सांसदहरू निजी काममा व्यस्त हुँदा कानून निर्माणमा ढिलाइ : सभामुख

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ऐन तथा कानून निर्माणको सवालमा संसदीय समिति र सांसदहरुले जागरुकताका काम गर्नुपर्ने बताएका छन् ।

आज (सोमबार) काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले सांसदहरू निजी र निर्वाचन क्षेत्रको काममा बढी जाने गरेका कारण संसदीय समितिमा कोरम नपुग्ने समस्या रहेको पनि स्वीकारे । सभामुख घिमिरेले सांसदहरू संसद्प्रति उत्तरदायी नभएको टिकाटिप्पणी भइरहेको उल्लेख गर्दै संसद् र समितिहरूलाई प्रभावकारी बनाउन सबै सांसदहरुले भूमिका खेल्न जरुरी रहेको उनको भनाई थियो ।

संघीयता कार्यान्वयनको सवालमा प्रश्नहरू उठिरहेको उल्लेख गर्दै उनले भने, ‘संघीयतामा चारैतिरबाट प्रश्न उठेका बेला संघीयतालाई आवश्यक पर्ने विधेयकहरू ल्याउन छलफल गरिरहेको छु । त्यसमा पनि विद्यालय शिक्षा विधेयक, शिक्षा समितिमा छलफलमा छ, त्यसलाई भइरहेका समस्याहरू के हुन् मैले बारम्बार निर्देशित गर्ने काम गरेको छु । त्यसैगरी निजामती सेवा विधेयकलाई सम्पन्न गर्नको लागि सम्बन्धित समितिलाई भनिरहेको छु ।’

सो अवसरमा उनले संसदीय पत्रकारिताले संसद्मा भएका समस्याहरू र त्यसको महत्व उजागर गर्न महत्वपूर्ण भूमिका खेल्दै आए पनि पछिल्लो समय पत्रकारिता क्षेत्रमा गर्न नहुने क्रियाकलापहरू बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। सञ्चार क्षेत्रले समाचार संप्रेषणका क्रममा सही सूचनालाई सही ढंगले सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘संसदका गतिविधिहरू र समस्याहरूलाई पत्रकारिताको क्षेत्रबाट आएपछि सच्याउन सकिन्छ भन्ने दृष्टान्तहरु आइरहेका छन् । संसद्का समस्याहरुलाई चिन्ने र सांसदहरुले के गर्न हुन्छ ? के गर्नु हुँदन ? भन्ने कुरामा महत्वपूर्ण भूमिका खेलेको छ । संसदीय परिपाटीमा संसद्को गरिमा उच्च र प्रभावकारी बनाउने प्रयासमा हामी लागेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर