संघीयतालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताएका छन् ।

आईतवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरुले प्रारम्भिक छलफल शुरु गरिसकेको बताए । उनले संविधान संशोधन दुई वटा राजनीतिक दलहरुले गरेर मात्रै नहुने भन्दै दुई राजनीतिक दलहरुको पहलमा सबै राजनीतिक दलहरुसँगको समन्वयबाट हुने बताए ।

संविधानको अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षलाई छनोट गर्ने र सबै राजनीतिक दलहरुबीच सहमतिका साथ संविधान संशोधन गर्ने बताए ।

उनले भने, ‘हामीले संविधान संशोधनको कुरा गरेका छौँ । संविधान संशोधनलाई विभिन्न हिसावले व्याख्या हुने गरेको छ । हामीले संविधान संशोधन गर्ने भनेको पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप राम्रो, थप सुदृढ र थप बलियो बनाउनका लागि गर्ने भनेको हो । हामीले संविधान संशोधनको विषयलाई पनि दुई राजनीतिक दलहरुले प्रारम्भिक छलफल शुरु गरेका छौँ । तर संविधानको संशोधन दुई वटा राजनीतिक दलहरुले गरेर मात्रै हुने होइन, हामी संविधानको १० वर्षको अनुभवको समीक्षा गर्दछौँ । महत्वपूर्ण विषयहरु संविधानको अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षलाई छनोट गर्दछौँ । सबै राजनीतिक दलहरुसँग वार्ता, संवाद, छलफल गरेर सबै दलहरुका बीचमा सहमतिका साथ संविधान संशोधन गर्दछौँ । यो हाम्रो मार्गचित्र स्पष्ट छ । त्यसो भएको हुनाले दुई दलले मात्रै संविधान संशोधन गर्ने होइन, तर कसै न कसैले त पहल त गर्नुपर्यो । हामी दुई दल पहल अघि बढाउँछौँ । यसका लागि प्रारम्भिक छलफल भएको छ । हामी सबै राजनीतिक दलहरुलाई समेटेर संविधान संशोधन गर्दछौँ ।’

गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए। एमाले र काँग्रेसबीच भएको सहमतिअनुसार नै वर्तमान सरकार अघि बढ्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर