घर, जग्गाको समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गरी अघि बढ्छु: अध्यक्ष घिमिरे
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले देशभरका व्यवसायीका समस्या समाधानका एक भएर अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार महासंघको अध्यक्षमा सर्वसम्मत चयन भएसँगै घिमिरेले घर जग्गाको क्षेत्रमा रहेका समस्या समाधानका लागि देशभरका व्यवसायीहरुसँग सहकार्य गर्ने बताएका हुन् ।
उनले घर जग्गाको व्यवसाय खस्किएकोमा व्यवसायी मात्रै नभई सरकार पनि गम्भीर रहेकाले चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले समस्याको समाधान छिटै हुने र व्यवसायीहरू उत्साहित रहेको उल्लेख गरे । छिटै घरजग्गा कारोबार पुरानै लयमा आउने बताए । बैंकहरुमा पैसा थुप्रिएर बस्दा पनि त्यसलाई ऋण प्रवाह गर्ने राम्रो खालको कानुनी व्यवस्था नल्याउँदा केही असहजता रहेको पनि बताए । बैंकिङ क्षेत्रमा थोरै सुधार भए अहिलेका समस्या समाधान हुने उनको विश्वास छ ।
काठमाडौंमा शुक्रबार सम्पन्न तेस्रो महासभाबाट वरिष्ठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षमा राजकुमार राई, दीपक कुँवर र पुरुषोत्तम पौड्याल निर्विरोध चयन भएका छन् । महासचिवमा रोशन भोयद्यो, सचिवमा घनश्याम पोखरेल र कोषाध्यक्षमा अरूणस्तोम त्रिपाठी निर्वाचित भएका छन् । सदस्यमा दशरथ पौडेल, उपेन्द्रप्रसाद अवस्थी, तुलसीप्रसाद अधिकारी, बहादुर कृष्ण ताम्राकार, लीलाबहादुर अधिकारी, मणिकुमार प्रसाईँ र देवकुमार महत्तो निर्वाचित भएका छन् ।
प्रतिक्रिया