पेट्रोल छर्केर आगो लगाई फरार व्यक्ति पक्राउ
कास्की जिल्लाको मादी गाउँपालिका ५ ठुलास्वारामा पेट्रोल छर्केर आगो लगाई फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ स्थायी घर भई पोखरा महानगरपालिका १३ काँहुखोला बस्ने वर्ष ३१ का उमेश राई रहेका छन् ।
राईले बिहिवार राती दुर्गा बहादुर गुरुङलाई आफ्नै घर बाहिर पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि पीडित गुरुङलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई मणिपाल अस्पताल हुँदै थप उपचारका लागि किर्तिपुर बर्न अस्पताल लगिएको छ ।
प्रहरीले घटनाको सूचना पाउनेबित्तिकै अनुसन्धान थालेको थियो। आरोपी राईलाई मादी गाउँपालिकाको सुनपदेँलीस्थित एक पुरानो विद्यालयमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउका क्रममा राईको साथबाट तीन थान लाइटर, एक बोतल, तीन मोबाइल, र एक लाइसेन्स बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका राईलाई कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
प्रतिक्रिया