सियासेन गभर्नर्स कन्फ्रेन्समा गभर्नर अधिकारीको सहभागिता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण कोरियाको राजधानी सिओलमा २०८१ मङ्सिर २१ र २२ गते सम्पन्न ६० औं सियासेन गभर्नर्स कन्फ्रेन्स र ४४ औं सियासेन गभर्नर्स बैठकमा सहभागीता जनाएका छन् ।

सियासेन सेन्टर र बैंक अफ कोरियाको संयुक्त आयोजना रहेको सम्मेलनमा विश्वव्यापी अर्थतन्त्र र एसियाली आर्थिक चुनौतीहरूबारे गहन छलफल भएको थियो।

कार्यक्रमको पहिलो दिन बैंक अफ कोरियाका गभर्नर चाङ योङ रीले स्वागत मन्तव्य राख्दै सम्मेलनको महत्वमाथि प्रकाश पारेका थिए । त्यसपश्चात सियासेन सेन्टरका कार्यकारी निर्देशक डा. सिनयोङ पार्कले सम्मेलनको उद्घाटन गरेका थिए ।

सम्मेलनका दुई सत्रमा विश्व अर्थतन्त्रका सम्भावना र भू-आर्थिक विखण्डनका नीतिगत प्रभावहरूबारे प्यानल छलफल भएको थियो। यसक्रममा, न्यून आर्थिक वृद्धि, मुद्रास्फीतिको दबाब, उच्च ब्याजदर, तथा भू-राजनीतिक तनाव लगायतका विश्वव्यापी आर्थिक मुद्दाहरूमा  विचारविमर्श भएको थियो।

सम्मेलनको दोस्रो दिन गभर्नर अधिकारीले प्यानलिस्टको रूपमा नेपालजस्ता देशहरूले सामना गरिरहेका आर्थिक चुनौतीहरूको चर्चा गरे । उनले निर्यात अवसरहरूको कमी, छिमेकी देशहरूमा बढ्दो व्यापार निर्भरता, विप्रेषण आप्रवाहको असर, र गरिबी निवारणमा पार्ने प्रभावजस्ता विषयमा आफ्नो विचार राखे । चुनौतीहरूको समाधानका लागि क्षेत्रीय सहकार्य, बहुपक्षीय समाधान, र लचिलो नीतिहरू प्रभावकारी हुने उनको धारणा थियो।

सम्मेलनको दोस्रो दिन, ४४औं सियासेन बोर्ड अफ गभर्नर्स बैठक बैंक अफ कोरियाका गभर्नर चाङ योङ रीको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा सन् २०२४ का गतिविधिहरूको समीक्षा, आगामी वर्षका रणनीतिक योजना, बजेट र अनुसन्धान कार्यक्रममाथि छलफल गरी गभर्नरहरूको रायका आधारमा प्रस्तावहरू पारित गरिएको छ ।

त्यसैगरी सियासेनको सन् २०२५ का कार्यक्रमको अध्यक्षता बैंक इन्डोनेसियालाई हस्तान्तरण गरिएको छ। आगामी ६१ औं सियासेन गभर्नर्स कन्फ्रेन्स र ४५औं बोर्ड अफ गभर्नर्स बैठक इन्डोनेसियामा आयोजना गरिने भएको छ।

सम्मेलनपछि गभर्नर अधिकारी २०८१ मङ्सिर २४ गते नेपाल फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर