१२ वर्षमा ८ अर्ब निर्यात अनुदान

सरकारले १२ वर्षको अवधिमा निर्यात अनुदानबापत झन्डै आठ अर्ब रुपियाँ वितरण गरेको छ । आर्थिक वर्ष २०६९/७० देखि आव २०८०/८१ सम्म सात अर्ब ८९ करोड रुपियाँ नगद अनुुदानबापत वितरण गरिएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ । निर्यात प्रवर्धन गर्ने उद्देश्यले सरकारले आव २०६९/७० देखि नगद अनुदानको व्यवस्था गर्दै आएको थियो ।

निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरिएको छ । प्रत्येक वर्ष निर्यात प्रवर्धन गर्ने भनेर नगद अनुदानको व्यवस्था गरे पनि निर्यात भने लक्ष्य अनुसार बढ्न नसकेको तथ्याङ्कले देखाएको छ ।

स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाई निर्यात प्रवर्धन गरी वैदेशिक व्यापार असन्तुलन कम गर्ने उद्देश्यसहित निर्यातमा अनुदानको व्यवस्था गरिएको थियो ।

निर्यातमा नगद अनुदान उपलब्ध गराए पनि निर्यात भने सो अनुपातमा बढ्न नसकेको तथ्याङ्कले देखाएको छ । सरकारले सिमेन्ट, क्लिङ्कर, स्टिल, जुत्ता, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित व्यवसायलगायत निर्यातयोग्य वस्तुमा आठ प्रतिशत नगद अनुदानको व्यवस्था गरेको छ ।

विभागका अनुसार आव २०६९/७० तीन करोड ३७ लाख रुपियाँ निर्यातमा नगद अनुदान वितरण गर्दा मुलुकबाट ७२ करोड २७ लाख रुपियाँको निर्यात भएको थियो । यस्तै आव २०७०/७१ मा ४२ करोड ४५ लाख रुपियाँ नगद अनुदान वितरण गरिएको ७८ अर्ब ४५ करोडको निर्यात भएको थियो । आव २०७१/७२ मा २५ करोड २६ लाख रुपियाँ नगद अनुदानबापत वितरण गरिएकोमा ७८ अर्ब ८१ करोड ४५ रुपियाँको निर्यात भएको थियो । आव २०७२/७३ मा १९ करोड ९१ लाख रुपियाँ नगद अनुदान वितरण हुँदा ९८ करोड ५९ लाख ५१ हजार रुपियाँको निर्यात भएको थियो ।

आव २०७३/७४ मा २८ करोड २४ लाख रुपियाँको नगद अनुदान वितरण हुँदा एक खर्ब २४ करोड ५१ लाख, आव २०७४/७५ मा २२ करोड ५६ लाख रुपियाँ नगद अनुदान वितरण हुँदा एक खर्ब ४१ अर्ब ८५ लाख, आव २०७५/७६ मा ३५ करोड ५४ लाख रुपियाँ नगद अनुदान वितरण हुँदा एक अर्ब ४१ अर्ब ८५ करोड रुपियाँको निर्यात भएको थियो ।

त्यसै गरी आव २०७६/७७ मा ८५ करोड ८३ लाख नगद अनुदान वितरण हुँदा एक खर्ब १९ अर्ब ६७ करोड, आव २०७७/७८ मा एक अर्ब २८ करोड ८६ लाख रुपियाँ नगद अनुदान वितरण हुँदा एक खर्ब ५३ अर्ब ८३ लाख रुपियाँको निर्यात भएको व्यापार प्रवर्धन तथा निकासी केन्द्रले देखाएको छ ।

यस्तै आव २०७८/७९ मा एक अर्ब ४२ करोड ८५ लाख रुपियाँ अनुदान वितरण हुँदा एक खर्ब ९२ अर्ब ४४ लाख रुपियाँ, आव २०७९/८० मा एक अर्ब रुपियाँ निर्यात अनुदान वितरण हुँदा एक खर्ब ६१ अर्ब १७ लाख रुपियाँ र गत आव २०८०/८१ मा एक अर्ब ५५ करोड रुपियाँ नगद अनुदानवितरण हुँदा एक खर्ब ५२ अर्ब रुपियाँको निर्यात भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *