प्रधानमन्त्रीसँग मनमुटाब भएको भन्ने प्रचार गलत हो : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाब भएको भन्ने गलत प्रचार गरिएको बताएका छन् ।

आइतबार कला परिषद्मा आयोजित फोटो प्रदर्शनी अवलोकन पश्चात् सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरूमा कुनै सत्यता नभएको बताए । उनले यस्तो समाचारको विषयमा प्रतिक्रिया दिन लायक समेत नभएको उल्लेख गरे । उनले गलत प्रचार गर्नेहरूले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डु घ्युसँग खानु बाहेक अरु केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने बताए ।

उनले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको उल्लेख गरे । उनले केपी शर्मा ओली प्रधानमन्त्री भएर सन् २०१६, २०१८ र २०२४ मा गरेको चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएको जिकिर गरे । उनले भ्रमणबाट नेपालले महत्वपूर्ण उपलब्ध हासिल गरेको भन्दै त्यसले नेपालको दीर्घकालीन विकास सहयोग पुग्ने बताए ।

उनले भने ‘प्रधानमन्त्री र मेरोबिचमा दूरी बढेको भन्ने समाचारहरू प्रतिक्रिया दिन लायक होइनन् । यो विषयमा सच्याई सानो अंश पनि छैन । दूरी बढ्यो भनेर मनको लड्डु घ्युसँग खानु मात्रै हो । गलत समाचारले कसैलाई पनि फाइदा गर्दैन । प्रधानमन्त्रीको यस पटकको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको छ । सन २०१६,२०१८ र २०२४ को चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएका छन् । भ्रमणबाट नेपालले महत्वपूर्ण उपलब्ध हासिल गरेको छ । नेपालको दीर्घकालीन विकासको लागि प्रधानमन्त्रीको चीन भ्रमण महत्वपूर्ण छ ।’

सञ्चारकर्मीहरूले गरेका मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकारका काम सम्बन्धित प्रश्नमा अर्थमन्त्रीले अर्थतन्त्रमा रहेका समस्याका चाङलाई एक–एक गरी पन्छ्याउँदै अगाडि बढिरहेको बताए । उनले सरोकारवालाहरूसँग समन्वय र सुझावसहित सरकार अर्थतन्त्र सुधारमा लागेको बताए । उनले पछिल्लो चार महिनामा सरकारले केही उल्लेख्य कामहरु गरेको दाबी गरे ।

उनले नीतिगत रुपमा रहेका अन्योल र दुबिधालाई धेरै हदसम्म स्पष्ट गरेको बताए । उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दा पछिल्लो समय अर्थतन्त्रले गति लिन थालेको बताए । उनले बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउन सफल भएको पनि बताए । उनले गत वर्ष चार महिनाको अवधिमा ३ प्रतिशत मात्रै राजश्व वृद्धि रहेकोमा यो वर्ष चार महिनामा अहिले १७ प्रतिशतले राजश्व वृद्धि भएको बताए ।

उनले भने ‘हामी सरकारमा आउँदा विगतका केही बाँझहरू थिए । अर्थतन्त्रमा समस्याका चाङ थिए । ती समस्यालाई एक–एक गरी पन्छाउँदै सरकार अगाडि बढिरहेको छ । पहिला समस्या के हुन् र समाधान के हुन्छ भनेर छलफल गरौं । सरोकारवालाहरूसँग समन्वय र सुझावसहित छलफल गरौं । सरकार बनेपछि केही उल्लेख्य कामहरु भएका छन् । नीतिगत रुपमा रहेका अन्योल र दुबिधालाई धेरै हदसम्म स्पष्ट गरेका छौं । सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दा पछिल्लो समय अर्थतन्त्रले गति लिन थालेको छ । बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउन सफल भएका छौं । तरलता सहजताको अवस्थामा छ । मूल्यवृद्धिलाई सीमाभित्रै राख्न सकेका छौं ।राजश्व वृद्धिका कुरा गर्दा पनि गत वर्ष चार महिनाको अवधिमा ३ प्रतिशत मात्रै राजश्व वृद्धि थियो । चार महिनामा अहिले १७ प्रतिशतले राजश्व वृद्धि भएको छ । क्रमशः उत्पादन,उत्पादकत्व वृद्धि,रोजगारी सिर्जना लगायतका क्षेत्रमा केन्द्रित हुन चाहेका छौं । अहिले पनि अर्थतन्त्रमा सरकारले देखेको समस्या बैंकको तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका निम्ति सदुपयोग गर्न सक्नुपर्छ भन्ने विषय सोचिरहेका छौं । उत्पादन र निजी क्षेत्रको मनोबल बढाई अर्थतन्त्रलाई गतिशील बनाउने दिशातर्फ सरकारको प्रयास भइरहेको छ ।’

उनले सरकार उत्पादन,उत्पादकत्व वृद्धि,रोजगारी सिर्जना लगायतका क्षेत्रमा केन्द्रित हुन चाहेको बताए । उनले बैंकको तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका निम्ति सदुपयोग गर्न सक्नुपर्ने आवश्यकता रहेको बताए । उनले उत्पादन र निजी क्षेत्रको मनोबल बढाई अर्थतन्त्रलाई गतिशील बनाउने दिशातर्फ सरकारको प्रयास भइरहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर