२०८१ भित्रै देशैभर फोरजी सेवा पुर्याउँदैछौँ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २०८१ भित्रै नेपालभर फोरजी सेवा बिस्तार गर्ने लक्ष्य लिएको बताएका छन् ।
शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मन्त्रालयले अहिले देशभर नै फोरजी सेवा राम्रोसँग चल्नसक्ने बनाउन काम गरिरहेको बताएका हुन् ।
उनले नेपालको सबै घरमा अब फोरजी चालु हुनुपर्ने भन्दै त्यसका लागि सरकारले व्यवस्थापन गरिरहेको बताए । उनले कतै नेटवर्क टिप्ने र कतै नटिप्ने गुणस्तरहीन नेटवर्क रहेको भन्दै सबैतिर फोरजी नेटवर्क टिप्ने बनाउन लागिपरेको बताए । सकेसम्म यही वर्षभित्र फोरजी सबैतिर चल्ने वातावरण बनाउने उनको भनाइ छ ।
सबैको घरमा रेडियो बजोस्, सबैको घरमा टेलिभिजन हेर्न पाइयोस् र सबैको घरमा नेटवर्क टिपोस् भन्नेकुरा नै आजको आधुनिक जमानाको जनताको आवश्यकता भएको उल्लेख गरे ।
उनले भने ‘आइटी इन्फास्ट्रक्चर नभईकन आइटी हब स्थापना गर्न सकिँदैन । आइटी इन्भेष्टको विकास पनि हुँदैन । पहिलो कुरा त इन्फास्ट्रक्चर बन्नुपर्यो । त्यसको लागि नेपालको सबै घरमा अब फोरजी एक्टिभ हुनुपर्यो । सबै घरमा । अहिले कहीँ टिप्छ, कहीँ टिप्दैन । कहीँ बोल्दा बोल्दै काटिन्छ, कहीँ के हुन्छ ? यस्तो किसिमको अनिस्टेबल, क्वालिटी विहीन परिस्थिति छ, यसलाई अन्त्य गर्छु भनेर लागेको छु म । यो वर्ष सकिन्छ की सकिँदैन हेरौँ । फोरजी कभरेज नेपालभर, नेपालको हरेक घरमा पुगोस् । हरेक घरमा नेपालको रेडियो बजोस्, हरेक घरमा नेपालको टेलिभिजन हेर्न पाइयोस् । हरेक घरमा बिजुली पुगोस् । हरेक घरमा नेट आओस् । त्यो आजको आधुनिक जमानाको जनताको आवश्यकता हो ।’
मन्त्री गुरुङले देश विकास गर्न योग्य व्यक्तिलाई नागरिकले चुन्नुपर्ने बताए । सक्षम व्यक्तिले देशको नेतृत्व नलिएसम्म विकास हुन नसक्ने बताए ।
प्रतिक्रिया