
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् ।
उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।
बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल-चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।
यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । भ्रमणका अवसरमा स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्त्वपूर्ण सम्झौता भएका छन् । सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । यसबारे चिनियाँ प्रधानमन्त्रीबाट सकारात्मक बचन प्राप्त भएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा उनले नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका जनाएका थिए । प्रधानमन्त्री ओलीले बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकनसमेत गरेका थिए ।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत छन् ।
प्रतिक्रिया