वीरगन्जस्थित खाद्य कम्पनीले ४२ हजार क्विन्टल धान खरिद गर्दै

पर्साको वीरगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान खरिद गर्ने भएको छ ।

कम्पनीका सूचना अधिकारी समीर दाहालका अनुसार दुई वर्षसम्म बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मूल्य कम भएपछि किसानले कम्पनीलाई धान बेचेका थिएनन् । यो वर्ष बजारमूल्यभन्दा समर्थन मूल्य केही बढी भएकाले किसानले कम्पनीलाई धान बेच्ने अपेक्षा गरिएको बताए ।

गत सोमबार पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गरेको मूल्यअनुसार कम्पनीले धान खरिद गर्न लागेको हो ।

समितिले जिरामसिनोको समर्थन मूल्य प्रतिक्विन्टल चार हजार तोकेको छ । संघीय सरकारले सोनामन्सुलीको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ५८ रुपैयाँ ६२ पैसा निर्धारण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *