विद्यार्थी बिदेसिने समस्या डरलाग्दो छ : देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने बताएका छन् ।

बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धीको ऐन ल्याउने विषयले निकै चर्चा पाएको उल्लेख गरे । उनले यी तीन वटै विधेयकहरू छिटो ल्याउन काँग्रेसले पहल गर्ने बताए ।

उनले पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेसिने समस्या डरलाग्दो रुपमा देखिएको बताए । उनले मुलुकमा सञ्चालित क्याम्पसहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको बताए । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेमा नेपाली विद्यार्थी नै विदेश पलायन हुनु दुःखद् भएको बताए ।

युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक रहेको बताए । यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयअनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक भएको सभापति देउवाको भनाइ छ ।

उनले भने ‘पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धीको ऐन ल्याउने विषयले निकै चर्चा पाएको छ । यो मुलुकको अति आवश्यकता पनि हो । यी ऐन जतिसक्दो छिटो ल्याउनका लागि पार्टीले पहल गर्ने नै छ । पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेसिने समस्या डरलाग्दो देखिएको छ । मुलुकमा सञ्चालित क्याम्पसहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको कुरा पनि आइरहेको छ । यी र यस्तै समस्याहरूको समाधानको ठोस उपाय खोज्नको लागि यस्ता बहस र कार्यक्रमहरूलाई निरन्तरता दिनु आजको आवश्यकता हो । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेछ । यसका लागि सबै सम्भावना हुँदाहुँदै पनि नेपालबाट विद्यार्थी बाहिरिइरहेका छन् । यो सोचनीय विषय हो । युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक छ । यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयअनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक छ ।’

सभापति देउवाले अबको ४०/५० वर्षको अनुमान गरेर मुलुकले अवलम्बन गर्नुपर्ने शिक्षा नीति निर्माण गर्नुपर्ने बताए । उनले शिक्षामा रूपान्तरण, शिक्षामा बजेट वृद्धि गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर