सरकारी नम्बर प्लेट राखेर गाँजा तस्करी
प्रहरीले सरकारी नम्बर प्लेट रहेका दुईवटा गाडी चेकजाँचगर्दा ठुलो् परिमाणमा तस्करी भइरहेको गाँजा बरामद गरेको छ ।
प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय ९० किलो गाँजा बरामद गरेको हो । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले गाँजा बरामद गरेको हो ।
गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउण्ड गोलीसमेत प्रहार गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए। धनकुटाबाट धरानतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले बा१झ ५१२७ र बा१झ ४६०५ सरकारी नम्बर प्लेटका दुईवटा जिपलाई मङ्गलबार राति नियन्त्रणमा लिएको थियो ।
दुवै जिपलाई रोकेर जाँच गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले गोली हानेर गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
धनकुटाबाट गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय भानुचोकबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
गाँजा बरामद गर्ने क्रममा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा–११ का ३६ वर्षीय श्यामकुमार विक रहेका छन् । उनलाई इलाका प्रहरी कार्यलय धरानमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तस्करको समूहले संघिय सरकारको कानुन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडीको नम्बर तस्करीमा प्रयोग भएको गाडीमा राखेका थिए ।
प्रतिक्रिया