ऐन कार्यान्वयन गर्न नसक्दा सहकारी समस्याग्रस्त : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ को सही ढंगले कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताएका छन्।
मंगलवार काठमाडौँमा आयोजित ‘सहकारीको समसामयिक अड्चन र निकास’ विषयक प्रदेशस्तरीय गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्। उनले सहकारी क्षेत्रमा काम गर्ने क्रममा सरोकारवाला निकायहरु ऐन कार्यान्वयन गरेर अगाडि नबढेकै कारण सहकारी क्षेत्रमा समस्या देखापरेको बताए।
उनले सहकारी क्षेत्रमा कसरी जाने र ऐनको कार्यान्वयनको गरेर अगाडि बढ्ने कुरामा को कति प्रतिबद्ध छौं ? भनेर प्रश्न गरे। उनले विगतमा भएका र देखिएका कमी,कमजोरी अब दोहोरिन नदिन ऐन र काम गर्ने विधिहरू समयानुकूल बनाउनुपर्ने कुरामा जोड दिए।
मन्त्री अधिकारीले भने, ‘सहकारी ऐन, २०७४ मा आयो । हामीले त्यो ऐनमा उल्लिखित विषय सँगै लिएर काम गरेको भए अहिले सहकारीमा यस्ता समस्या आउँदैनथे।’
उनले बजारमा सहकारीसँग जोडिएका वित्तीय संस्थाहरू ठिक होइनन् भन्ने विश्लेषण बजारमा भइरहेको उल्लेख गर्दै उक्त भाष्यलाई गलत सावित गर्न सबै जिम्मेवार भएर लाग्न जरुरी रहेको बताए।
प्रतिक्रिया