भारतीय अपराधी लोरेन्स बिश्नोईका नाममा धम्काएकाे आरोपमा दुर्गा प्रसाईंका विश्वासपात्र फुयाँल पक्राउ
प्रहरी अनुसन्धानका लागि हाल हिरासतमा (अस्पताल) रहेका दुर्गा प्रसाईंका विश्वासपात्र झापाका एक युवालाई प्रहरीले सीमानाकाबाट पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नवीन प्रधान उपनाम भएका हरिचन्द्र फुयाँललाई नेपाल-भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।
उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए । उनलाई नेपाल–भारत सिमानास्थित पानी ट्याङ्कीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । फुयाँलले दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्कीपूर्ण फोन आइरहेको प्रहरीले जनाएको छ । बैंकर र अन्य व्यवसाय गर्नेहरू मध्येका ६ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी गरेका छन् ।
सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा भारतबाट मात्रै १४१ वटा कल आएको भेटिएको छ । फोन गर्नेहरूले दुर्गा प्रसाईँलाई सहयोग नगरे व्यापारीको विस्तृत विवरण आफूसँग रहेको भन्दै धम्की दिने गरेका थिए।
प्रतिक्रिया