चिनियाँ वायुसेवा कम्पनीहरूले नेपालमा तिरेनन् भ्याट

चिनियाँ वायुसेवा कम्पनीहरूले नेपालको मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेको पाइएको छ । भ्याटमा दर्ता नहुने अडान राख्दै चिनियाँ वायुसेवा कम्पनीहरूले उठाइसकेको ४ अर्ब रुपैयाँ बराबर भ्याट नतिरेको पाइएको हो ।

भ्याट तिर्न पटक–पटक ताकेता गरे पनि चिनियाँ वायुसेवाहरूले अटेर गरिरहेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा ल्याएको बजेट (आर्थिक ऐन २०८०) मा नै हवाई सेवामा भ्याट लाग्ने व्यवस्था गरेको थियो । त्यो व्यवस्थापछि आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै आन्तरिक मात्र होइन, अन्तर्राष्ट्रिय हवाई सेवामा पनि भ्याट लाग्ने उल्लेख थियो । त्यसअनुसार नेपाल आउने सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भ्याटमा दर्ता भएर कर तिर्न थालेका थिए । तर चिनियाँ कम्पनीहरू भने त्यसरी भ्याट लगाउनु सिद्धान्त विपरीत भएको भन्दै भ्याट नतिर्ने अडान लिएको छ ।

चीनबाट हाल एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स र सिचुआन एयरलाइन्सले नेपालमा सिधा उडान गर्छन् । अन्य दर्जनौं चिनियाँ वायुसेवाले नेपालबाट काटिएको टिकटमा यात्रु बोक्ने गर्छन् । ती दुवै किसिमका एयरलाइन्सले नेपालमा भ्याट तिर्नुपर्छ ।

१५ जेठमा आएको आर्थिक विधेयकमा ‘नेपालबाट उडान सुरु नगर्ने अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक (अफलाइन एयरलाइन्स) ले १५ जेठ २०८० देखि संकलन गरेको मूल्य अभिवृद्धि कर २०८१ असार मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता भई बुझाए त्यसमा लाग्ने ब्याज, जरिवाना, थप दस्तुर मिनाहा हुनेछ,’ भन्ने उल्लेख छ । तर हालसम्म पनि चिनियाँ वायुसेवा कम्पनीहरूले भ्याटको रकम तिरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर