हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह

हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन् । कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ ।

प्राधिकरणले उपलब्ध गराएको मङ्सिर १ देखि १० गतेसम्मको विवरणमा सबैभन्दा बढी आगलागीका घटना भएको देखिएको हो । प्राधिकरणका अनुसार मङ्सिर १ गते ११ वटा विपद्का घटना भएका थिए ।

त्यसमध्ये आठ वटा आगलागीका मात्रै घटना थिए भने जनावरको आक्रमणबाट एक जना र लेक लागेर एक जनाको मृत्यु भएको थियो । मङ्सिर २ गते विपद्का १२ वटा घटनालाई प्राधिकरणले समावेश गरेको छ ।

त्यसदिन पनि विभिन्न आठ स्थानमा आगलागी भएका थिए । झापाको दमकमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो । यस्तै, मुस्ताङमा लेक लागेर एक जना र सुनसरीमा अर्नाले हानेर एक जना घाइते भएका थिए ।

मङ्सिर ३ गते दुई वटा घटनामात्रै भएका प्राधिकरणले जनाएको छ । मोरङमा आगलागी र बैतडीको पाटनमा सुक्खा पहिरो खस्न गई महाकाली राजमार्गमा अवरुद्ध भएको थियो । यसैगरी मङ्सिर ४ गते देशभर १६ मध्ये १३ वटा आगलागीका विपद्जन्य घटना भएका थिए ।

मङ्सिर ५ गते देशभर १२ वटा आगलागीका घटना भएको पाइएको छ । आगलागीमा ठूलोमात्रामा भौतिक क्षति भए पनि मानवीय क्षति नभएको प्राधिकरणको विवरणमा समावेश छ । त्यसदिन आगलागीमा परी एक जना घाइते भएका छन् ।

मङ्सिर ६ गते १० वटा घटना घटेकामा नौ वटा आगलागीका मात्रै थिए । त्यसदिन आगलागी र जनावर आक्रमणमा परी दुई जना घाइते भएका उल्लेख छ । मङ्सिर ७ गते देशभरका १४ स्थानमा आगलागी भएको थियो ।

आगलागीका कारण भौतिक सामग्री जलेर नष्ट भई दुई जना घाइते भएका प्राधिकरणले जनाएको छ । मङ्सिर ८ गते देशभर १० वटा विपद्जन्य घटनामध्ये नौ वटा आगलागीका थिए । लेक लागेर एक जना र आगलागीबाट एक जना घाइते भएका थिए ।

मङ्सिर ९ गते देशभर विपद्का १५ घटनामध्ये १४ वटा आगलागीका थिए । सो दिन नवलपरासी पूर्वमा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको थियो । यस्तै आगलागीमा परेर दुई जना घाइते भएका थिए ।

मङ्सिर १० गते विपद्जन्य १४ वटा घटना देशभर घटेका छन् । त्यसमा १३ वटा आगलागीका हुन् । यसरी पछिल्ला १० दिनको विवरणमा सबैभन्दा बढी आगलागीका घटना छन् । आगलागीबाट जोगिन पूर्वसावधानी अपनाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ ।

प्राधिकरणले घर नजिक कुवा, इनार र पोखरीको व्यवस्था गरी पानीको जगेर्ना गर्न, समुदायस्तरमा आगलागीको समयमा तत्काल प्रयोगका लागि डोरी, बोरा, कपडा, बाल्टिन, कुटो, कोदालो आदिको व्यवस्था गर्न, समयमा सम्बन्धित निकायमा सूचना गर्न आग्रह गरेको छ । यस्तै क्षति कम गर्न परिवार तथा समुदायमा पूर्वतयारी योजना तयार पारी कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर