कर्जन्हाका तत्कालीन नगर प्रमुखसहित पाँच जना भ्रष्टाचारी ठहर

सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन प्रमुख गंगा पासवान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा प्रशासनिक भवन निर्माणका निम्ति भएको ठेक्कामा अनियमितता गरेको कसुरमा उनीहरू दोषी ठहरिएका हुन् ।

विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले मुद्दामा दोषी ठहर सबैलाई जनही दुई वर्ष कैद सजाय तोकेको छ । उनीहरूलाई दामासाहीमा २१ लाख ६० हजार रुपैयाँका दरले बिगो असुल गरी त्यति नै जरिवाना हुने समेत फैसला गरिएको छ । गएको कात्तिक २८ गते कसुर कायम गरेको इजलासले सोमबार (आज) सजाय निर्धारण गरेको हो ।

उनीहरूले नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगर्नू भन्ने जनकपुर उच्च अदालत राजविराज इजलासबाट जारी निषेधाज्ञाको आदेशविपरीत टेन्डर आह्वान गरेका थिए । उनीहरूले भवन निर्माणस्थल नै निश्चित नगरी ठेकेदार कम्पनीलाई एक करोड आठ लाख रुपैयाँ भुक्तानी समेत दिएका थिए । त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष चैत १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मद्दामा विपक्षी बनाइएका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविनकुमार महतोलाई पनि विशेष अदालतले दोषी ठहर गरेको हो । यस्तै, निर्माण व्यवसायी महालक्ष्मी-पाण्डे एन्ड कम्पनी-ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवलाई पनि दोषी ठहर गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर