सरकारसँग व्यापारीहरुको माग– सहकारी समस्या तत्काल समाधान गरियोस्

साना तथा मझौला व्यापारीहरुले सहकारी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

काठमाडौंको न्युरोड क्षेत्रमा व्यापार/व्यवसाय गर्दै आएका उनीहरुले सहकारी क्षेत्रमा आएको संकटका कारण पनि आफूहरुको व्यवसाय फस्टाउन नसकेको प्रतिक्रिया समेत दिएका छन् ।

व्यापारीहरुले वैदेशिक रोजगारीमा जानेहरुको लर्कोले पनि व्यापार दिनप्रतिदिन घटदै गईरहेको बताएका छन् । राष्ट्रिय व्यापार संघका उपाध्यक्ष वैकुण्ठ दाहालले सहकारीको समस्याले होलसेल बजारमा धेरै ठूलो नकारात्मक असर परेको गुनासो गरे ।

उनले सो समस्या समाधान गर्न र बैंक तथा वित्तीय संस्थाहरुलाई साना तथा मझौला व्यापार, व्यवसायमा लोन प्रवाह गरिदिन पनि सरकारसँग माग गरे ।

पुस्तक व्यापारीहरु पनि युवा पुस्ता प्लस टु सकिएपछि विदेशिने क्रम बढेकाले व्यापार ठप्प भएको बताउँछन् । खाँडादेवी सेकेण्ड हेण्ड बुक सपका सञ्चालक आशिष खत्रीले गत वर्षको तुलनामा यस वर्ष पुस्तकको व्यापार ५० प्रतिशत भन्दा बढी घटेको बताए ।

पढ्ने उमेरका युवाहरु विदेश जाने भएपछि व्यापार घट्ने कुरा स्वभाविकै हुने उनको बुझाई थियो ।

उनले भने–‘अहिले धेरैजसो युवाहरु प्लस टु सकिएपछि बाहिर जाने होड चलेको छ । अहिलेसम्म भन्ने हो भने हाम्रो स्कुल लेवल र कलेजको ११, १२ सम्म त ठिकठिकै जस्तो छ । तापनि सन्तोषजनक छैन । अब ब्याचलरको भन्ने हो भने जिरो नै छ । नयाँ वा पुरानो जुन पुस्तक पनि ४÷५ सेट भन्दा बढी विक्री हुने अवस्था छैन । पुरानो पुस्तक पनि ५० प्रतिशत भन्दा कम व्यापार हुने गरेको छ पहिलाको तुलनामा । अब अहिलेको व्यापार निराशाजनक छ भन्नुपर्छ ।’

जुत्ताको व्यापार गर्दै आएका व्यवसायीहरुले पनि जुत्ता लगाउने जनशक्ति बाहिर गएकाले आफूहरुको व्यापार नभएको बताएका छन् ।

जुत्ता लगाउने युवा उमेरका मानिसहरु विदेशमा रोजगारीका लागि जाने क्रम बढेकाले जुत्ताको व्यापार विगतको भन्दा २५ प्रतिशत पनि हुन नसकेको दावा सुज एण्ड फेसन सेन्टरका संचालक छावाछिरिङ लामाको अनुभव छ । उनले बजारमा ग्राहकको नै अभाव देखिएको पनि बताए ।

भूकम्प र कोभिड महामारीपछि आफूहरुको व्यापार खस्कँदै गएको नमूना फेसन कलेक्शनका नवराज गौतमले बताए ।

उनले सहकारीको वचत रकम फिर्ता नहुँदा पनि व्यवसाय चलाउन कठिन भएको बताए ।

गौतमले भने– ‘पहिलाको जस्तो चहलपहल छैन, बजार सुनसान छ । मन्दीका कारण यस्तो भयो भन्छन । भूकम्प, कोभिडपछिबाट नै यस्तै छ । गत वर्षको भन्दा यस वर्षको व्यापार आधी पनि छैन । धेरै कम छ । मन्दी छ । फाईनान्समा डिपोजिट गरिएको पैसा दिएको छैन पनि भन्छन । त्यसैले पैसा हुँदैन । समस्या छ ।’

व्यापारीहरुकाअनुसार देश भित्रै रोजगारी अभिवृद्धि गर्ने र सहकारीलगायतका वित्तीय संस्थाहरुलाई व्यवसायमैत्री बनाउन सकेमात्रै मुलुकमा व्यापार व्यवसाय फस्टाउने भएकाले यस काममा सरकारले विशेष ध्यान दिनुपर्दछ ।

राष्ट्रिय व्यापार संघका उपाध्यक्ष दाहालले बैंकहरुले ठूलो व्यापारीहरुलाई मात्रै लोन दिने भएकाले पनि आफूहरु मारमा परेको उल्लेख गर्दै यस्तो अवस्थामा सरकारले आफूहरुको संरक्षण हुनेगरी कानूनी व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर