चिलिमेका तीन जलविद्युतको १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा रसुवामा तीन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । ती तीनबाट १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०-१३२-३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो । १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाहरूको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् ।

यसमध्ये माथिल्लो सान्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रूपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोड रुपैयाँको बिजुली बिक्री गरिइसकेको छ । ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबार (हिजो) देखि राष्ट्रिय प्रसारणलाइनमा जोडी परीक्षणका रूपमा बिजुली उत्पादन सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रूपमा बिजुली उत्पादन गरिँदै छ । परीक्षण सफल भएपछि एवं तोकिएका मापदण्ड पूरा गरेपछि सान्जेन र रसुवागढीबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिनेछ । दुवै आयोजनाबाट यही महिनाभित्रमा व्यावसायिक रूपमा विद्युत् उत्पादन हुनेछ ।

नदी प्रवाहमा आधारित माथिल्लो सान्जेन, सान्जेन र रसुवागढी जलविद्युत् आयोजनाहरूबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र बिजुली उत्पादन हुन्छ । माथिल्लो सान्जेन र सान्जेनबाट वार्षिक रूपमा एक अर्ब ८० करोड युनिट विद्युत् उत्पादन हुनेछ । माथिल्लो सान्चेनलाई विद्युतको बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७०-७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ । यसका निम्ति ‘पिकिङ’ पोखरी निर्माण गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर