चिकित्सकहरूमाथि हुने दुर्व्यवहार सैह्य हुँदैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चिकित्सकहरूमाथि हुने कुनैपनि प्रकारको दुर्व्यवहार सैह्य नहुने चेतावनी दिएका छन् ।
द सोसाइटी अफ सर्जनस नेपाल र साउथ एसियन सर्जिकल केयर सोसाइटीको सहकार्यमा पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री पाण्डेले पोखराको मणिपाल अस्पतालमा गत वर्ष मात्रै चिकित्सकहरूमाथि दुर्व्यवहारका घटना भएको दृष्टान्त पेस गर्दै आइन्दा त्यस्तो घटना हुन नदिने आश्वासन समेत दिए । उनले चिकित्सकहरूलाई निर्भीकतापूर्वक काम गर्न पनि आग्रह गरे । चिकित्सकहरूमाथि कुनैपनि समस्या परेमा गण्डकी प्रदेश सरकार साथमा रहने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।
उनले भने ‘कहिलेकहीँ स्वास्थ्य क्षेत्रमा पनि अभद्र व्यवहारहरू भइराखेका छन् । गत वर्ष पनि हाम्रो मणिपाल कलेजमा डाक्टरहरूमाथि गरिएको जुन दुर्व्यवहार थियो । त्यसलाई हामीले निक्र्यौलमा पुर्याउन सक्यौ । त्यो खुसीको कुरा पनि हो । मेडिकल एशोसिएशनले त्यसमा विशेष पहल पनि गरेको थियो । चिकित्सकको त के कुरा भगवानले पनि सबैलाई बचाउन सक्दैनन् । भगवानले बचाउने भए बिहानदेखि बेलुकासम्म भगवानका भक्तहरूले मर्नुपर्ने थिएन होला नि । यस्ता किसिमका अभद्र व्यवहारहरू जुन भइरहेका छन् । त्यसलाई हाम्रो सरकारले कुनैपनि हालतमा सहँदैन । र सबै डाक्टरहरूलाई आफ्नो पेसामा इमानदारितापूर्वक र निर्भीकतापूर्वक अगाडि बढ्न पनि म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु । र यहाँहरूको त्यो समस्याका लागि गण्डकी प्रदेश सरकार यहाँहरूको साथमा रहनेछ भन्नेकुरा म यहाँहरूको बीचमा विश्वास व्यक्त गर्न चाहन्छु ।’
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले स्वास्थ्य उपचारमा आम नागरिकको पहुँच पुर्याउनका लागि सक्दो पहल गरिरहेको पनि बताए ।
प्रतिक्रिया