मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मानव बेचबिखनको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन् । पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले तामाङलाई नारायणगढबाट पक्राउ गरेर सार्वजनिक गरेको कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिए । उनका अनुसार विभिन्न स्थानका युवतीहरुलाई नारायणगढमा भेला पारी सुनौली जाने बसमा चढाउन लागेको अवस्थामा थिङ्लाई पक्राउ गरिएको हो ।
मिश्रले भने, ‘थिङले युवतीहरूको पासपोर्ट सङ्कलन गरी भिसा लगाउन भारत पठाउन लागिएको थियो । भारतबाटै विदेश जानुपर्छ भनी युवतीहरूलाई लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको हो ।’ मानव बेचबिखनको यो नयाँ स्वरुप भएको उनले बताए । थिङको नियत खराब भएको थाहा पाएपछि युवतीहरूले आफन्तमार्फत प्रहरीलाई खबर गरेका थिए ।
थिङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत चितवनबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । उनले युवतीहरूको संरक्षणका लागि सुरक्षित गृहमा पठाइएको बताए ।
प्रतिक्रिया