घुस मागेको उजुरीपछि बालेनले गरे एक कर्मचारी निलम्बन

सेवाग्राहीसँग घुस मागेको आरोपमा काठमाडौं महानगरपालिकाका एक कर्मचारी निलम्बनमा परेका छन् । राष्ट्रिय सभागृहस्थित राष्ट्रिय परिचयपत्र एकाइमा कार्यरत अधिकृत आठौँ तहका कर्मचारी अब्दुल मजिद खानलाई मेयर बालेन्द्र साहले निलम्बन गरेका हुन् ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि उनले गत २९ कात्तिकमा दुई हजार रुपैयाँ घुस मागेको उजुरी मेयरको सचिवालयमा परेको थियो । तत्कालै नगर प्रहरीले उनलाई महानगरपालिकाको कार्यालयमा ल्याएर सोधपुछ गरेको थियो । प्रारम्भिक सोधपुछमा पैसा मागेको आधार देखिएपछि उनलाई निलम्बन गरिएको महानगरपालिका स्रोत बताउँछ ।

सो घटनाको विषयमा छानबिन गर्न महानगरपालिकाका सल्लाहकारसमेत रहेका पूर्वसचिव शंकरप्रसाद पाण्डेको अध्यक्षतामा समिति गठन भएको महानगरपालिका प्रशासन विभाग प्रमुख ध्रुवप्रसाद काफ्लेले बताए । समितिमा सुदीप ढकाल र उमेश मेहता सदस्य छन् । समितिलाई एक महिनाको समय दिइएको छ ।

खान रुजु अधिकारीका रूपमा पञ्जीकरण एकाइमा खटिएका थिए । उपत्यकाबाहिरका जिल्लाको सेवाग्राहीको परिचयपत्र त्यहाँबाट नबन्ने, तर दर्ता अपरेटरलाई दुई हजार रुपैयाँ दिए काम हुने भन्दै उनले पैसा मागेका थिए । दर्ता अपरेटर भने राष्ट्रिय परिचयत्रपत्र तथा पञ्जीकरण विभागका कर्मचारी हुन् । उनलाई पनि सो प्रकरणपछि जिम्मेवारीबाट हटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर