दरबारमार्गबाट एमालेको चुनौती : कम्बोडियामा लगानी प्रमाणित गर, थपेर डबल दिन्छौं
नेकपा एमाले महासचिव शंकर पोखरेलले कम्बोडियाको टेलिकममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको कसैले पुष्टि गरे डबल पैसा सो व्यक्तिलाई दिने चुनौती दिएका छन् । काठमाडौंमा आज (शुक्रबार) भएको जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले कम्बोडियामा लगानीको विषयमा स्यालहुइयाँ मच्चाइएको बताएका हुन् ।
‘कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी छ भनेर स्यालहुइयाँ मच्चाउने प्रयत्न भएको छ । हाम्रो अध्यक्षले लगानी प्रमाणित गरे त्यो लगानी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउँछु भन्नु भएको छ । कुनै देशको टेलिकममा कसको लगानी छ भनेर अपारदर्शी हुनसक्छ ?,’ पोखरेलले भने, ‘नेपाली समाजभित्र यस्ता व्यक्ति छन्, जो षडयन्त्रको ढाँचाबाट प्रस्तुत गर्दैछन् ।’ उनले एमाले नेताहरू कम्बोडिया गएको विषयमा पनि प्रस्टीकरण दिए । ‘एक्यापको अधिवेशन कम्बोडियामा हुँदै गर्दा सबै दलको सहभागिता छ । तर, अधिवेशनमा एमालेको सहभागितालाई लिएर बदनाम गर्ने प्रयत्न गरिएको छ, जुन गलत छ ।’ एमाले सुशासनको सवालमा सबैभन्दा सही पार्टी भएको उनले बताए ।
‘सुशासनको पक्षमा हाम्रो पार्टी यो देशका पार्टीमध्ये सबैभन्दा सही ठाउँमा छ । भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भनेर अध्यक्षले भन्नु भएको छ । यो एमालेको भनाइ हो । अभियोग लागेकोमा पार्टी नेता भए पनि निलम्बन गरेका छौं,’ पोखरेलले भने, ‘अभियोग लागेपछि संसदले सर्वसम्मत छानबिन गरेर समितिको सिफारिशको आधारमा अघि बढेको प्रक्रियापछि पनि निशाना एमालेलाई बनाइयो ।’ ओम्नी, गिरीबन्धु टी स्टेटको विषयमा पनि एमाले दोषी नभएको उनले बताए । बरु परिवर्तनविरोधी र नयाँ हौं भन्ने दलले सुशासनको खिल्ली उडाएको आरोप उनले लगाए ।
प्रतिक्रिया