करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, उत्पादन बोटबाटैै बिक्री गर्न किसान बाध्य

यतिबेला जिल्लाका अधिकांश स्थानमा पाकेका सुन्तला लटरम्म छन् ।  जिल्लामा भरपर्दो र उपयुक्त चिस्यानगृह नहुँदा किसानहरु सुन्तला पाक्न नपाउँदै सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् ।

जिल्लाभित्र करोडौँको लगानीमा निर्माण भएका चिस्यान केन्द्र प्रयोगविहीन बन्दा सुन्तला, किबी, आलुजस्ता कृषिउपज सिजनमै सस्तोमा बिक्री गर्नुपरेको हो । प्रयोग भएका गृह पनि आंशिक मात्रामा सञ्चालनमा रहेका छन् ।

जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यानगृहमा कृषकले उत्पादन गरेका तरकारी, फलफूल तथा अनाज भण्डारण नगरी सीधै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोगविहीन बनेका हुन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठवटा चिस्यानगृह रहेका छन् ।

जिल्लाभित्र रहेको चिस्यानगृहको क्षमता करिब ६४ दशमलव ५ मेट्रिक टन रहेको छ । तीमध्ये १० मेट्रिक टन क्षमताका भोक्सिङ, शालिजा र बनौंमा रहेका तीनवटा चिस्यानगृहमा सिजनको बेला मात्र आलु भण्डारण गर्ने गरिन्छ । त्यसैगरी बाँसखर्कमा १० मेट्रिक टन क्षमता रहेको एक र कुर्घामा २ दशमलव ५ मेट्रिक टन क्षमता रहेका दुर्ईवटा कोल्डस्टोर सिजनअनुसार सुन्तला र आलु स्टोर गरिँदै आएको छ ।

‘हामी जसरी ‘कोल्ड रुम’ बनाउन बजेटको लागि खट्छौँ, भनसुन गर्छौं, सोहीअनुसार सञ्चालनमा समेत यथोचित ध्यान नदिँदा अपेक्षित लाभ दिन नसकेका हुन् । कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख परशुराम अधिकारीले भने,– ‘राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माणपश्चात्का जटिलता, प्राविधिक ज्ञान, सहुलियत विद्युत्लगायतका पक्षमा समेत यथोचित ध्यान दिनुपर्छ ।

अधिकारीले  चिस्यान केन्द्र निर्माण गरे पनि कृषकले भण्डारण नगरी ठेक्कामै आफ्ना उत्पादन बेच्ने परिपाटी विकसित हुँदै गएकोे र कृषिउपज टिप्ने, सङ्कलन गर्ने तथा भण्डारण गर्ने आवश्यक ज्ञान उनीहरुमा नदेखिएको हुँदा फसल लामो समयको लागि स्टोर गर्न समस्या देखिएको बताए  । राज्यस्तरबाटै निर्माणसँगै स–साना प्राविधिक ज्ञानका पक्षलाई पनि माथि उठाउनुपर्ने बताए ।

त्यसैगरी पाँच वर्ष अघि कुश्मा नगरपालिका–९ कटुवाचौपारीको बाह्रबिसेमा निर्माण गरिएको कोल्डरुममा आलु भण्डारण सफल रुपमा हुँदै आएको छ । कटुवाचौपारीको कोल्डरुममा विगत पाँच वर्षसम्म प्राविधिक ज्ञानको अभावका कारण केही कृषिउपज कुहिएर गएका थिए भने पछिल्लो समय आलु र सुन्तला भण्डारण सफल देखिएको सञ्चालक राजबाबु पिसीले जानकारी दिए । उनले आगामी दिनमा मासु स्टोर गर्न सकिने कोल्डरुम निर्माणको सोचमा आफू रहेको जानकारी दिए ।

त्यसैगरी पैयुँ गाउँपालिका–४ हातेमालोचोकमा चिस्यानगृह निर्माण सम्पन्न  भइसकेर पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । पैंयुँको चिस्यानगृह निर्माणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, ललितपुरको रु ११ लाख र पैयुँ गाउँपालिकाको रु ११ लाख लगानी रहेको छ । दक्ष प्राविधिकको अभावमा चिस्यानगृह सञ्चालनमा ल्याउन समस्या परेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए । उनका अनुसार आगामी सिजनमा आलु भण्डारण गर्ने तयारी गरिएको छ ।

त्यस्तै गरी जिल्लाको मोदी गाउँपालिकाको पातिचौरमा निर्माणाधीन रहेको ‘कोल्डरुम’ भने भौतिक संरचना निर्माणमा भएको ढिलाइका कारण हालसम्म पनि अलपत्र अवस्थामा रहेको छ । चिस्यान केन्द्र नहुँदा बोटबाटै काँचै सस्तो मूल्यमा सुन्तला बिक्री गर्नुपरेको मोदीका अगुवा कृषक दाताराम चापागाईले बताए ।

‘राज्य तथा व्यक्तिहरु भौतिक संरचना निर्माणका क्रममा अहोरात्र खट्ने तर निर्माणपश्चात्को व्यवस्थापकीय पक्षमा उदासिन देखिने प्रवृत्तिका कारण चिस्यानगृह अपेक्षाअनुसार सफल हुन नसकेका हुन् । स्थानीय कृषक शिव अधिकारीले भने,– सरकारले भौतिक संरचना निर्माणमा मात्र होइन दीर्घकालसम्म कोल्डरुम सञ्चालनमा नीति नै बनाएर कृषक सँगसँगै हातेमालो गर्नुपर्छ । तब मात्र कृषकका लागि ल्याएका सुविधा सार्थक र कृषक केन्द्रित हुनेछन् ।’

कृषिउपज टिप्ने, अल्पकालीन भण्डारण गर्ने तथा ढुवानी गर्नेलगायतका विषयमा यथेष्ट ज्ञान, कोल्डरुमसम्बन्धी प्राविधिक ज्ञान र सहुलियत विद्युत् उपलब्ध गराउने राज्यतहको नीति बेलैमा नआउने हो भने हाम्रा सबै लगानी परिणाममुखी नहुने सरोकारवालाको भनाइ छ ।

‘कोल्डरुम’ अपेक्षा गरेअनुसार कृषकका लागि उपयोगी हुन सकिरहेका छैनन् । निर्माणका क्रममा चुस्त देखिएका स्टोर अनेकन समस्या झेलेर सञ्चालनका क्रममा समस्या ग्रस्तरुपमा चलिरहेका देखिन्छन् । दक्ष प्राविधिक तथा ज्ञानको अभाव, विद्युतीकरणको अभाव, सहुलियत विद्युत् उपलब्ध गराउने नीतिको अभावलगायत पक्षमा राज्यबाट यथोचित व्यवस्थापन हुन नसक्दा समस्या रहेको सुन्तला कृषक उमाकान्त शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *