पूर्व राजदूत तपस अधिकारीलाई ‘एम्बेस्डर अफ दी ग्लोबल’ सम्मान

पाकिस्तानका लागि राजदूत रहेर काम गरिसकेका तपस अधिकारीलाई पाकिस्तानको ‘एम्बास्डर अफ दी ग्लोबल’ को पदबीबाट सम्मानित गरिएको छ। आफ्नो कार्यकाल सकेर नेपाल आइसकेकाले उनको सम्मान नियोग उपप्रमुख लोकबहादुर क्षेत्री सिर्जनले लिएका थिए।

नेपाल र पाकिस्तानबीचको कूटनीतिक, व्यापार र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्न उत्कृष्ट प्रयासको कदरस्वरुप अधिकारीलाई प्रतिष्ठित ‘ग्लोबल एम्बेसडर अवार्ड २०२४’ बाट सम्मानित गरिएको पाकिस्तान सरकारले जनाएको छ।

पाकिस्तानको एक वैश्विक सार्वजनिक कूटनीति संस्था, द डिप्लोम्याटिक इनसाइटले छोटो अवधिमा दुई मुलुकलाई द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय फोरमहरूमा एकसाथ नजिक ल्याउनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै राजदूत अधिकारीलाई छैठौं ग्लोबल एम्बेसडर अवार्डबाट सम्मानित गरेको जनाएको छ।

छैठौं ग्लोबल एम्बेसडर अवार्ड समारोह २०२४ इस्लामाबादमा राजदूत, कूटनीतिक निकाय, सांसद, सरकारी अधिकारी, व्यवसायी नेता, शिक्षाविद्, सञ्चारमाध्यम र नागरिक समाजका सदस्यहरूको उपस्थितिमा भएको थियो।

कार्यक्रममा पाकिस्तानका प्रधानमन्त्रीका संयोजक राना इहसान अफजल खान, कूटनीतिक अन्तरदृष्टि समूहका अध्यक्ष डा. फरहत आसिफको पनि उपस्थिती थियो। आसिफले विशिष्ट अतिथिहरूलाई स्वागत गर्दै विश्वव्यापी सहकार्य र कूटनीति प्रवर्द्धन गर्न संस्थाको प्रतिबद्धतालाई जोड दिएका थिए।

अधिकारी २०२०को नोभेम्बर ७ मा पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाल्न पुगेका थिए भने उनी एक साता अघि कार्यकाल सम्पन्न गरेर मन्त्रालय फिरेका हुन। नेपाली राजदूतको सूचिमा पनि उनी निकै सक्रिय र अब्बल राजदूतमा पर्दछन्।

नेपालको परराष्ट्र सेवामा २५ वर्षभन्दा बढी समय बिताएका राजदूत तपसले न्युयोर्क, कोलकाता र टोकियोका साथै परराष्ट्र मन्त्रालयमा विभिन्न माहाशाखमा रहेर प्रमुख कूटनीतिक जिम्मेवारी पूरा गरेका छन्। अहिले पनि उनले महत्वपूर्ण महाशाखा नै पाउनेछन्।

पाकिस्तानमा राजदूत हुनुअघि उनले दक्षिण पूर्व एसिया र प्रशान्त महाशाखाको नेतृत्वका साथै प्रशासन पनि हेर्थे। राजदूत अधिकारीले नेपाल–पाकिस्तान सम्बन्धलाई अगाडि बढाउन, आर्थिक सहयोग र सांस्कृतिक आदानप्रदानमा केन्द्रित रहेर महत्वपूर्ण भूमिका खेलेका थिए।

दशकौँपछि पाकिस्तानमा नेपालको चिया निर्यातलाई पुनरुत्थान गर्ने उनको प्रयासले आर्थिक कूटनीतिमा उल्लेखनीय उपलब्धि भएको टिप्पणी पाकिस्तान सरकारको छ। उनले पर्यटनका लागि बौद्ध, सिख, स्लाम र हिन्दुलाई जोडेका थिए। त्यसमा पनि पाकिस्तान सरकार उनीसँग निकट रहेर काम गनै उत्साहित छन्।

उर्दू र पञ्जाबी भाषा बोल्ने राजदूत अधिकारीले स्थानीय पाकिस्तानी समुदायसँग घनिष्ठ सम्बन्ध विकास गरेका थिए। उनी आफ्नो कार्यकाल सम्पन्न गरेर फर्कदा प्रधानमन्त्री, विदेशमन्त्री, सल्लाहकार, सभामुख एकै स्थानमा बसेर विदाई भेट गर्दा उनले मुलकको शिर उचो पारेको अनुभव सबैलाई भएको थियो।

उर्दू कव्वाली, गजल, र बुल्ले शाह एवं सन्त कबीरको दर्शनको लागि उनको व्यक्तिगत प्रशंसाले पाकिस्तानसँगको सांस्कृतिक सम्बन्धलाई गहिरो बनायो।

राजदूत अधिकारीले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरूलाई कन्सुलर सहयोग सुनिश्चित गर्न र नेपाली र पाकिस्तानी समुदायहरूबीचको बन्धनलाई बढावा दिन पनि नथाकी लागे।

विदेशमा नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उनको प्रतिबद्धताले दुई राष्ट्रबीचको आपसी समझदारी र सहकार्यलाई बढावा दिने उनको समर्पण झल्काएको र पाकिस्तान नेपाल थप निकट ल्याउन उनले निर्वाह गरेको भूमिका पाकिस्तान सरकारले नभुल्ने पनि स्पष्ट पारिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *