रास्वपा चुनावी अभियानमा, नेताहरु २७ स्थानमा केन्द्रित हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीको रकम अपचलन प्रकरणमा थुनामा रहेका पार्टी सभापति रवि लामिछानेलाई छुटाउने आन्दोलन बिसाएर चुनावी अभियानमा लाग्ने निर्णय गरेको छ ।
पार्टी सभापतिलाई छुटाउन माग गर्दै सडक आन्दोलन गर्दै आएको रास्वपा अब मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुने भएको हो । रास्वपाले सडक आन्दोलनलाई चुनावी अभियानमा रूपान्तरण गर्ने निर्णय आजको बैठकबाट गरेको हो। पार्टीका केन्द्रीय नेताहरू चुनावी अभियानमा केन्द्रित भएर त्यसलाई आन्दोलनको नामा दिने बैठकले निर्णय गरेको छ ।
पार्टीका केन्द्रीय सदस्यहरू पार्टीले चुनाव लड्ने २७ वटै निर्वाचन स्थानमा खटाउने निर्णय बैठकले गरेको छ। पार्टीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रवक्ता मनिष झाले स्थानीय तहको उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारी दिएका सबै ठाउँमा नेताहरू पुग्ने जानकारी दिए ।
बैठकपछि झाले जारी गरेको विज्ञप्तिमा पार्टीले दोस्रो चरणको आन्दोलनको तात्कालिक स्वरूप स्थानीय निर्वाचनसँग सम्बन्धित अभियानका माध्यमबाट अगाडि बढाउने निर्णय गरेको उल्लेख छ। गत कात्तिक २४ गतेको केन्द्रीय समितिको निर्णय बमोजिम आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राजनीतिक प्रतिशोध र सहकारी, लघुवित्त, मिटरब्याज पीडित, भ्रष्टाचारका काण्डहरूको छानबिन, अर्थतन्त्र र युवा बेरोजगारी, प्रवास, संविधान संशोधन लगायतका राष्ट्रिय मुद्दाहरूको स्थानीयकरणमा केन्द्रित हुने निर्णय बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया