कांग्रेसलक्षित ज्ञवालीको टिप्पणी- बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ

नेकपा (एमाले) का उपमहासचिव एवंं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग गरिएको बीआरआई सम्झौता कार्यान्वयन योजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन् ।

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा सो सम्झौताको कार्यान्वयन योजना अघि बढाउने कुरालाई रोक्न नहुने धारणा राखे ।

उनले सत्तारुढ नेपाली काँग्रेससँग सो योजना अघि बढाउने विषयमा मतभिन्नता रहेको उल्लेख गर्दै सो कुरामा प्रधानमन्त्री ओली चीन भ्रमण जानुअघि नै सत्तारुढ दुई दलबीच सहमती बन्ने विश्वास समेत व्यक्त गरे ।

बुधबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले काँग्रेस-माओवादी नेतृत्वको सरकारको पालामा भएको सो सम्झौता अघि बढाउने विषयमा पछि हट्न नमिल्ने पनि बताए ।

काँग्रेसले सो परियोजना अन्तर्गत विगतमा गरिएको सहमति कार्यान्वयनका लागि चीनबाट अनुदान लिँदा उपयुक्त हुन्छ भन्ने धारणा राख्दै आएको छ । तर,उपमहासचिव ज्ञवालीले भने चीनतर्फ संकेत गर्दै विकसित देशहरुले अहिले अनुदान सहायता दिने कुरालाई कटौति गर्दै लगेको बताए ।

उनले भने,‘बीआरआईको बारेमा खासगरी नेपाली काँग्रेसका कतिपय साथीहरुको अलि अगाडि नेपाली काँग्रेसले एउटा संस्थागत निर्णय गरेको कुरा हामी सबैलाई जानकारी नै छ कि बीआरआई अन्तर्गत ग्रान्ट हो भने ठिक छ । तर हामी लोन चाहीँ लिन सक्दैनौं भन्ने कुरा साथीहरुले भन्नुभएको छ । यसमा तपाईहरुले अध्ययननै गर्नुभएको छ जस्तो मलाई लागेको छ । पहिलो कुरा त मेरो प्लेन आग्रह के छ यहाँहरुमार्फत सबै राजनीतिक दलहरुलाई भने वर्षौं लगाएर कुनै एउटा देशसँग एउटा अन्डस्टयान्डिङमा पुगिन्छ । जव कार्यान्वयन गर्ने बेला हुन्छ, त्यसपछि त्यसलाई गिजोल्ने खालको माओले यस्तै हैरान भएर होला १० चोटी नाप अनि ११ औं चोटीमा काट भनेको । हामी कहाँ चाँही पहिलो चोटीमा झयाप्प काटिहाल्ने । त्यसपछि यता साईज मिलेन, उता साईज मिलेन नकि भनेर नाप्न खोज्ने जस्तो प्रवृत्ति देखियो । अव एमसीसी त्यस्तै भयो । ६ वर्ष, ७ वर्ष लगाएर नेगोशिएशनमा उहाँहरुले नै हस्ताक्षर गर्नुभयो । पछि गिजोल्नेमा उहाँहरु नै लाग्नुभयो । बीआरआई पनि काँग्रेस माओवादी सरकारले नै एमओयूमा हस्ताक्षर गरेको हो । म के ठान्छु भने बीआरआई एउटा कन्सेप्ट हो । आफैँमा यो एउटा कुनै प्रोजेक्ट होइन । बीआरआई भित्र मेनी मेनी प्रोजेक्टहरु हुन सक्छन् । त्यसमा भएको अहिलेसम्मको प्रगति भनेको एक नेपालको हकमा बीआरआई भनेको ट्रान्स हिमालएन मल्टी डाईमेन्सन कनेक्टिभिटी नेटवर्क नै हो । त्यस अन्तर्गत क्रस बोर्डर रेल वे, रोड वे कनेक्टिभिटीदेखि लिएर धेरै कुराहरु पर्दछन् । र परियोजना चाँही हामीले नौं वटा सेलेक्ट गरेका छौं । फाईनल हुन अझै बाँकि छ । त्यसो भएर फण्डिङ मोडालिटी के हो ? त्यो विषयमा हामी प्रवेश नै गरेका छैनौं । बीआरआईको कार्यान्वयन यसरी गर्ने भनेर फ्रेमवर्कमा अहिले छलफल चलिरहेको हो । तेस्रो ग्राण्ड र लोनमा पनि म के ठान्छु भन्दाखेरी नेपालीमा एउटा उखान छ–सित्तैमा पाईयो भनेर अलकत्रा खानुहुन्न । अब सित्तैमा पाईयो भने पनि ग्रान्ट यदि हाम्रो देशको हितमा छैन भने त्यो लिनु हुन्न त । म सरकारमा नै छदा मलाई सम्झना छ हामीले कतिपय ग्रान्टलाई अस्विकार गरेका छौं । एक ८० प्रतिशत भन्दा बढी कन्सल्टेन्सीको नाममा सम्बन्धित देशमा नै फर्किने ग्रान्ट हामीलाई किन चाहियो ? १० अर्ब देखाउने, अनि ८ अर्ब उतै जाने । तर २ अर्ब मात्रै हामीले पाउने गरी किन लिने ? दोस्रो संवेदनशील क्षेत्रहरुका विभिन्न कुराहरुमा हाम्रा कन्सनहरु पनि छन । त्यस्ता कुराहरुमा जान सकिदैन । अल लोनको कुरा गर्ने हो भने हामीलाई अहिले रिसोर्स ग्याप छ । यदि हामीले २०३० सम्म नेपाललाई एसडिजी सबै पूरा गरेर मध्यम आय भएको मुलुक बनाउने संकल्प पूरा गर्न प्रतिवर्ष हामीले लगानी गर्ने ५ देखि ६ खर्व रुपैयाँ लगानी कम छ । यो राष्ट्रिय योजना आयोगको निष्कर्ष हो । त्यो कहाँबाट ल्याउने ? थोरै ग्रान्ट आउँला । विकसित राष्ट्रहरु ग्रान्टको मामिलामा मुठी कस्न थालेका छन । हामीले ल्याउने भनेको प्रत्यक्ष वैदेशिक लगानी, गैर आवासीय नेपालीहरुको सिर्सोसहरु, तेस्रो भनेको सहुलियतपूर्ण ऋण नै हो । त्यसो हुनाले ऋण हेरौ । त्यो ऋण धेरै महंगो छ भने चीनसँग पनि लिनुहुन्न, भारतसँग पनि लिनुहुन्न । अमेरिकासँग पनि लिनहुन्न । सस्तो हुन्छ भने जहाँबाट पनि लिँदा हुन्छ । त्यसका अरु सर्तहरुलाई पनि हेरेर गर्नुपर्ने हुन्छ । यसमा हामी छलफल गरिरहेका छौं । अलिअलि डिफरेन्सेस भएपनि मलाई लाग्छ–प्रधानमन्त्रीको चीन भ्रमणसम्म यो विषय सेटलडाउन हुन्छ भन्ने मेरो विश्वास छ ।’

उपमहासचिव ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । दाहालले भारतीय पत्रिका द हिन्दुलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले चाईना कार्ड प्रयोग गरेको टिप्पणी गरेका थिए ।

त्यो टिप्पणी राष्ट्रका लागि खेदजनक रहेको उपमहासचिव ज्ञवालीको प्रतिक्रिया थियो । उनले भने,‘अब अहिले प्रधानमन्त्रीको चीन भ्रमणको पूर्वसन्ध्यामा उहाँले अस्ती द हिन्दुमा जे इन्टरभ्यु दिनुभयो । त्यसमा जे शब्द प्रयोग गर्नुभयो । वास्तवमा त्यो खेदजनक नै छ त्यो । सरकारको विरुद्ध जे जे हतियार पाईन्छ, त्यही त्यही प्रयोग गरेर जानुपर्छ भन्ने मनोविज्ञानमा पुग्नुभएको हो कि भन्ने विचलन जस्तो देखिएको छ । र त्यो विचलन भित्र रास्वपा, राजावादी शक्तिहरु सबै सबै सल्बलाउन लागिरहेको, यसले समाजमा नकारात्मकता बढ्न थालेको स्थितिमा राजनीतिक स्थायित्व हामी गर्छौं । देशमा सुशासन हामी कायम गर्छौं । देश पाईला पाईला भएपनि अगाडि बढिरहेको छ । सबै चिज सोचेजस्तो भएको छैन होला । तर देश बनिरहेको छ । बन्छ भन्ने सन्देश जिम्मेवारी राजनीतिक पार्टीहरुले दिनुपर्छ ।’

उपमहासचिव ज्ञवालीले विपक्ष दलहरुलाई प्रयोग गरेर दाहालले सरकारविरुद्ध भ्रम सृजना गर्ने प्रयास गरिरहेको आरोप पनि लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर