मन्त्रिपरिषदको बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बिहान ९ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार बैठकले नियमित पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारलगायतका विषयमा आवश्यक निर्णय गर्नेछ । उनको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो ।

सभामुख देवराज घिमिरेले आइतबार साँझ  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीलाई टेलिफोन गरी पूर्व सभामुख ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए । पारिवारिक स्रोतका अनुसार स्वर्गीय ढुंगानाको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी छ । त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित सानो गौचरणमा राखिनेछ। उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

लोकतान्त्रिक राजनीतिका अथक अभियन्ता ढुंगानाको संविधान निर्माण, लोकतन्त्र र शान्ति स्थापनामा महत्वपूर्ण भूमिका छ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले  ‘कु’ गरेपछि  विद्यार्थीहरू आन्दोलनमा लागेका थिए । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीमाथि लगाइएका मुद्दामा ढुंगानाले बहस पैरवी गरेका थिए ।

३० वर्षको उमेरमा नेपाल बार एशोसिएसनको महासचिव भएका ढुंगाना झण्डै दुई दशक वकालत पेसामा संलग्न थिए । २०२८ सालमा नेपाल बार एशोसिएसनको महासचिव भएका थिए । पञ्चायतकालमा विद्यार्थी संगठनमा आबद्ध भएर राजनीतिक यात्रा गरेका ढुंगानाले ०४६ सालको जनआन्दोलनको बेला कांग्रेसका प्रवक्ता थिए ।

०४७ साल कात्तिक २३ गते जारी भएको संविधानको मस्यौदा गर्न गठित आयोगमा रहेर ढुंगानाले योगदान गरेका थिए । ०४८ सालमा काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित भएका ढुंगाना सभामुख भएका थिए । उनी ०५१ सालसम्म सभामुख भएका थिए । ०५१ मा पनि उनी चुनाव लडे, तर जित्न सकेनन् । ०७४ सालमा भक्तपुर जिल्ला क्षेत्र नं २ बाट चुनावी मैदानमा उत्रिएका थिए । चुनावमा पराजय भएसँग राजनीतिमा निस्क्रिय देखिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *