उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने समय तोकेको छ।
आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा मनोनयन दर्ता भएको थियो। जसमध्ये एक जना निर्विरोध चयन भएका छन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।
कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।
उपनिर्वाचन हुने स्थानीय तहमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन्। कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन्। नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको थियो ।
प्रतिक्रिया