सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधारिएपछि निजी विद्यालय विस्थापित

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थालेपछि जिल्लाको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित हुँदै गएका छन् ।

यहाँ रहेका सात पालिकामध्ये निजी विद्यालय नहुने यही महाशिला गाउँपालिका हो । अन्य पालिकामा भने निजी विद्यालय सञ्चालनमा छन् । महाशिलामा जनप्रतिनिधिले सामुदायिक विद्यालयको गुणस्तरमा सुधारमा प्राथमिकता दिएपछि यहाँका विभिन्न वडामा सञ्चालित निजी विद्यालय बन्द भएका हुन् ।

हुनेखानेका बालबालिका गुणस्तरीय शिक्षाका नाममा बजार जाने र गाउँमा रहेका विपन्न तथा मध्यम परिवारका बालबालिका पनि लामो समय विद्यालयमा नटिक्ने समस्यापछि गाउँपालिकाले सामुदायिक विद्यालयबाट नै निजी विद्यालयसरहको शिक्षा दिन थालेपछि यस्तो हुन गएको दाबी गरेको छ ।

गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले भने,’सुरुमा कक्षा १ देखि ३ सम्म दिवाखाजा कार्यक्रम सुरु ग¥यौँ, यसले विद्यार्थीको टिकाउदर बढ्यो । पछि सरकारले कक्षा ५ सम्म दिवाखाजा कार्यक्रम सञ्चालन गरेपछि निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढयो । साथै अहिले कक्षा नर्सरीदेखि १० सम्म नै सबै विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरेपछि सामुदायिक विद्यालय नै अभिभावको रोजाइमा परे ।’

भुसालले पछिल्लो समय जिल्लाभरमा निजी विद्यालय नहुने पालिका बनाउन सफल भएको बताए । गाउँपालिकाले अङ्ग्रेजी भाषाप्रतिको मोह देखेर यहाँ रहेका सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको र बोर्डिङ स्कुलले दिने शिक्षा सामुदायिकबाट नै दिन थालिएपछि गाउँपालिकालाई निजी विद्यालयबिहीन बनाउन सकिएकोे उनले सुनाए। त्यसका लागि विद्यालयमा रहेका नयाँ तथा पुराना शिक्षकलाई आवश्यक तालिम दिएर मासिक रूपमा उपलब्धि मापन परीक्षा पनि लिने गरिएको अध्यक्ष भुसालले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *