११ वर्षपछि अफगानिस्तानविरुद्ध नेपालको जित

नेपाली राष्ट्रिय फुटबल टिमले १३ महिनापछि अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । नेपाली टिमले शनिबार ताजिकिस्तानमा अफगानिस्तानलाई २–० ले पराजित गरेको हो ।

अन्तर्राष्ट्रिय फुटबलमा यसअघि नेपालले पछिल्लोपटक सन् २०२३ को अक्टोबरमा विश्वकप छनोट पहिलो चरणमा लाओसलाई १–० ले हराएको थियो । त्यसयताका सातमध्ये नेपालले ६ खेलमा हार र एक बराबरी खेलेको थियो ।

शनिबार अफगानिस्तानविरुद्ध नेपाललाई जित दिलाउन जिलेस्पीजंग कार्की र रोहित चन्दले गोल गरे । खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ४६औँ मिनेटमा जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रतामा राखेका थिए । ७८औँ मिनेटमा रोहितले नेपालको अग्रता दोब्बर पारे । नेपाली राष्ट्रिय टिमबाट रोहितको यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो ।

नेपाली टिमले अफगानिस्तानमाथि ११ वर्षपछि जित निकालेको हो । यी दुई टिमबीच यसअघि पछिल्लोपटक सन् २०१३ मा प्रतिस्पर्धा भएको थियो । त्यति बेला नेपालमै आयोजित साफ च्याम्पियनसिपको सेमिफाइनलमा घरेलु टिमलाई १–० ले हराउँदै अफगानिस्तानले फाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा नेपालले दुईपटक पेनाल्टी पाए पनि रोहित चन्दले गरेको दुवै प्रहारलाई अफगानी गोलकिपरले विफल बनाएका थिए । त्यसयता यी दुई टिमबीचको यो पहिलो प्रतिस्पर्धा हो ।

नेपालले यस वर्षको नोभेम्बर फिफा विन्डोमा दुई अन्तर्राष्ट्रिय खेल खेलेको छ । अफगानिस्तानअघि नेपालले घरेलु टिम ताजिकिस्तानविरुद्ध खेलेको थियो । उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर