छ सय एक हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै
राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान छ सय एक हप्ता प्रवेश गरे पनि काठमाडौँ उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन।
विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती किनारमा सफाइ हुँदै आएको छ। जति सफाइ गरे पनि वाग्मती सफा नदेखिएपछि ‘हिँड्दैछ, पाइला मेट्दैछ’ भनेर पनि कतिले यो महाअभियानलाई व्यङ्ग्य गर्ने गरेका छन्।
सुरुआती चरणदेखि महाअभियानमा जुट्नुभएका अभियानकर्मी किशोरसिंह शाही ढलको व्यवस्था नगरी सिधै फोहर पानी नदीमा हाल्दा जति सफाइ गरे पनि वाग्मती सफा देखिन नसकेको बताउँछन्।
सफाइ अभियानकर्मी चक्रबहादुर चन्द १२ वर्षअघिको अवस्थाबाट वाग्मतीमा सफाइको अवस्थामा सुधार गर्न सकिए पनि आशातीत काम भने हुन नसकेको बताृँछन्। ढलमुक्त गराउन भने सरकारले नसकेको उनले स्वीकार गरे। अधिकार सम्पन्न वाग्मती समितिले एक वर्षमा गुह्येश्वरीसम्म ढलमुक्त गर्ने प्रतिबद्धता जनाएको बताए। समितिले गुह्येश्वरीसम्मका छ ठाउँमा ढल मिसिइरहेकामा तीन ठाउँमा बन्द गराइसकेको जनाइएको छ।
वाग्मती सफाइ महाअभियानको छ सय एक हप्ताको आजको सफाइ काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगरमा गरिएको थियो। वाग्मती सफाइ अभियानकर्मीको समूहले गरेको सफाइसँगै आज त्यस क्षेत्रका वाग्मती किनारमा रोपिएका बोट विरुवा गोड्मेल पनि गरिएको थियो। वाग्मती नदीबाट नकुहिने फोहर पनि व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ।
प्रतिक्रिया