एनपिएलको माहोलसँगै खेलमा भविष्य देख्दै मधेसवासी
नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको खबर र त्यसका गतिविधीहरुसँगै जनकपुरधामसहित मधेसमा खेल जगतमा आफ्नो भविष्य देख्नेहरूमा आशा पलाउन थालेको छ ।
नेपाली खेलाडीहरूको पनि लाखौँमा विक्री हुन लागेको, विदेशका चर्चित क्रिकेटरहरू नेपालीसँग खेल्न आउन लागेको खबरहरूले मधेसको खेल क्षेत्र उत्साहित बन्दै गएको छ । जनकपुरधामको वडा नं. १४ रजौलमा प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला टुर्नामेण्ट बाहेक सुनसान रहन्छ । रंगशालामा आज खेलाडी र युवादेखि बालबालिकाहरूको उत्साहजनक सहभागिता छ ।
शनिवार एनपिएलका लागि घोषणा भएको जनकपुर बोल्ट टिमले देशव्यापी कार्यक्रम अन्तर्गत आफ्ना टिमलाई चाहिने दुईवटा खेलाडी छान्न जनकपुरधामस्थित रंगशालामा आयोजना गरेको टाइलेण्ट हन्ट ईभेण्टमा खेलाडी मात्र नभई खेल्न चाहने बालबालिकादेखि युवाहरू पोसाकमा सहभागिता जनाए ।
उनीहरु एनपिएलको आयोजनाले देश मात्र नभई खेलमा सुस्ताएको मधेसको युवाहरूमा आशा जागेको बताउँछन् । मधेसको आठवटै जिल्लाका आधिकारिक निकाय क्यानका जिल्ला सञ्जालहरू पनि एनपिएलका कारण मधेस र जनकपुरधामको क्रिकेट विरासत अब पुनः लयमा फर्किने प्रशस्त सम्भावना रहेको बताउँछन् । क्यान धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे विश्वमा नेपाल अब क्रिकेटका कारण पनि चिनिने र आफूहरूलाई गर्व लाग्ने बताउँछन् ।
खेलाडीको प्रतिभा अनुगमन गर्न व्यस्त जनकपुर बोल्टका प्रशिक्षक मनोज कटुवाल मधेसका खेलाडी र छनौट हेर्न आएका युवादेखि बालबालिकाहरूको उत्सुकता र उत्साहले पहिलो एनपिएल भव्य हुने बताए । अब खेलाडी पनि बन्नुपर्छ भन्ने सपना र लक्ष्य प्राथमिकता पर्न थाल्ने सम्भावना देखिन थालेको बताए ।
२०४० को दशकमै जनकपुरधाममा तत्कालीन जनकपुर चुरोट कारखाना, श्री महावीर युवा कमिटीसहितका बलिया क्रिकेट टिम सक्रिय थिए । त्यसबाट राष्ट्रिय टोलीसम्म पुग्ने खेलाडीहरू पनि धेरै थिए । नेपालमा क्रिकेट भन्ने बित्तिकै जनकपुरधाम स्मरण हुने भएपनि पछिल्लो समय जनकपुर र मधेसमा क्रिकेट सुस्ताएको थियो । तर देश, विदेशमा नेपाली टिम र हुन लागेको एनपिएल जस्ता चर्चित क्रिकेटका ईभेण्टहरुले आशाको सृजना गर्ने काम गरेको छ भने भौतिक संरचना र खेलमा लगानीका लागि राज्यलाई दबाब बढ्नेछ ।
प्रतिक्रिया