माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ‘बाईबाई’ भइसक्यो : पार्वत गुरुङ

सत्तारुढ नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र) ले विकासको नाममा कमिशनतन्त्र चलाईरहेको आरोप लगाएका छन् ।

पार्टीको गौरीशंकर गाउँपालिका काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रलाई विकास विरोधी, अझै पनि हत्या र हिंसामा विश्वास गर्ने पार्टी भएकाले ऊसको हैसियत राष्ट्रिय राजनीतिमा समाप्त भएको जिकिर समेत गरे ।

नेता गुरुङले माओवादी केन्द्रसँग कुनै राजनीतिक संस्कार नभएकाले आगामी स्थानीय तहको निर्वाचनमा जनताले हराई दिने दाबी समेत गरे । विकासको नाममा कमिसनतन्त्र चलाउने भएकाले आगामी उपनिर्वाचनमा सो पार्टी पराजित हुने उनको भनाई थियो । नेता गुरुङले मुलुकलाई राजनीतिक स्थायित्व र विकास दिनका लागि काँग्रेससँग सत्ता सहकार्य गरेर अघि बढनु परेको पनि बताए । माओवादी केन्द्रले कहिले एमाले, कहिले काँग्रेससँग मिलेर आफ्नो अस्तित्व मात्रै जोगाईरहेको बताए ।

उनले भने ‘हाम्रो पार्टीलाई जिताउन जरुरी छ । माओवादी केन्द्रलाई बाईबाई गर्न जरुरी छ । किन जरुरी छ ? माओवादी केन्द्र कुनै पनि राजनीतिक संस्कार बोकेको, विकासलाई अगुवाई गर्ने पार्टी होइन । माओवादीले त २०७४ सालमा आएर पनि कुलबहादुर तामाङको हत्या गर्ने पार्टी हो । त्यसैले हामीले गौरीशंकरबाट कुलबहादुरको रगतको बदला लिन जरुरी छ । दिलबहादुर खत्री अहिले पनि अपांग हुुनुहुन्छ । उहाँ घाइते हुनुहुन्छ । यस्तो अवस्थामा हामीले उनीहरुको हितको निम्ति पनि गौरीशंकरमा एमालेले विजयको झण्डा गाड्नु छ । त्यसैले म सहीद कुलबहादुरलाई सम्झन चाहन्छु । बुद्धिमान पाख्रिनलाई सम्झिन चाहन्छु । स्वर्गीय पशुपति दाईलाई सम्झिन चाहन्छु । सम्मान व्यक्त गर्न चाहन्छु । हामीले सहिदहरुको रगतबाट संचित दोलखाको भूमिलाई अव माओवादीबाट बाईबाई गर्नुपर्छ । माओवादी राजनीतिक पार्टी होइन, ऊ हत्या हिंसामा विश्वास गर्ने पार्टी हो । ऊ विकास होइन, कमिसनका विश्वास गर्ने पार्टी हो । त्यसैले म दाबाका साथ भन्छु–प्रमाणका साथ भन्छु–हाम्रो प्रतिष्पर्धा कुनै नेपाली काँग्रेससँग होइन । हामी काँग्रेससँग मिलेर यो देशमा स्थायित्व दिन चाहन्छौं । राजनीतिक स्थिरता दिन चाहन्छौं । र बलियो राष्टिय शक्ति निर्माण गर्न चाहन्छौं । आफ्नो अस्तित्व टिकाउने र बचाउने पार्टी माओवादीलाई बाईबाई गर्न चाहन्छौं । र राष्टिय राजनीतिमा माओवादी बाईबाई भईसक्यो, दोलखाले पनि विदाई गर्नुपर्छ ।’

एमालेले पार्टीको तर्फबाट गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको रुपमा उमा शेर्पालाई उम्मेदवार बनाएको छ । पार्टीका स्थायी समिति सदस्य डा। राजन भट्टराईले उनलाई पार्टीको तर्फबाट उम्मदवारको टिकट औपचारिक रुपमा वितरण गरेका थिए ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, केन्द्रिय सदस्य सरस्वती बस्नेतलगायतका नेताहरुले गौरीशंकर गाउँपालिकाको निर्वाचनमा एमालेले जित्ने दाबी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर