‘कान्छाराम कन्स्ट्रक्सन’को आबद्धता दुई वर्ष अगाडि नै छाडेको हो : ऊर्जाराज्यमन्त्री तामाङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ‘कान्छाराम कन्स्ट्रक्सन’को आबद्धता दुई वर्ष अगाडि नै छाडेको बताएका छन् ।
भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा शुक्रवार भएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले रामेछाप काँग्रेसको सभापति समेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको विषयमा प्रश्न उठाएका थिए ।
महामन्त्री शर्माले ऊर्जा राज्य मन्त्रीको कम्पनी कालोसूचीमा परेको कुरा आएको भन्दै राज्य मन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरे । राज्यमन्त्री तामाङले महामन्त्री शर्माको प्रश्नको जवाफ दिँदै ‘कान्छाराम कन्स्ट्रक्सन’कम्पनीसँगको आबद्धता साढे दुई वर्ष अगाडि नै छाडेको स्पष्टीकरण दिए । उनले पार्टीले विश्वास गरेर पठाएर नै कानुनअनुसार राज्यमन्त्री भएको उल्लेख गरे । उनले देशको कानुनले आबद्धता नभएको कम्पनी कालोसूचीमा पर्दा मन्त्री छाडेर पुरानै पेसामा फर्कनसक्ने बताए ।
उनले भने ‘कान्छाराम कन्स्ट्रक्सन प्रा।ली।मा मैले दुई वर्षअघि सांसदको टिकट पाएपछि बाहिर निस्केर बसेको व्यक्ति हौँ । म अहिले पार्टीले पठाएर अहिले सरकारको ऊर्जा राज्यमन्त्री छु । कानुन भन्दा ठूलो केही छैन । कानुनले भन्छ भने एक मिनेटमा मन्त्रीबाट छाडेर पेसा र व्यवसाय र परिवारसँग काम गर्न तयारी छु । पार्टीको महामन्त्री विश्वप्रकाश शर्माज्यूले प्रश्न उठाउनु भयो । मेरो कम्पनी २०४४ साल माघ १९ मा दर्ता गरेको हो । साढे दुई वर्ष त्यो पेसा छाडेर बाहिर छु । २०७९को सांसदको टिकट पाउनु भन्दा पहिला कम्पनीबाट निस्केको छु । अहिले कानुन नीति नियम र नेपालको संविधानले कम्पनीमा आबद्धता ठहर भयो भने राजनीतिबाट बाहिर जान तयार छु ।’
उनले २०७९ को सांसदको टिकट पाउनु भन्दा पहिला कम्पनीबाट निस्केको बताए । उनले कानुन, नीति नियम र नेपालको संविधानले कम्पनीमा आबद्धता ठहर भए राजनीतिबाट बाहिर जान तयार रहेको बताए । उनले समितिमा बोल्दै भ्रष्टाचार निवारण ऐनको संशोधनमा अख्तियारमा उजुरी दिन नागरिकताको फोटोकपी अनिवार्य गर्न माग समेत गरे ।
प्रतिक्रिया