कम्पोष्ट मलले माटो बचाइँदै

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा गुइँठा र कम्पोष्ट मल बिक्रीबाट उठेको रकमले बेवारिसे गाईबाच्छाको संरक्षण गरिँदै आएको छ । पशुपति क्षेत्र विकास कोषले निःशुल्क दिएको करिब एक सय रोपनी जग्गामा अभियानकर्मीहरूको समूहले सडकमा छाडिएका बेवारिसे गाईबाच्छा जम्मा गरी आश्रय दिएका छन् ।

बेबारिसे गाईबाच्छाको संरक्षणका लागि गुइँठा र कम्पोष्ट मल बिक्रीबाट जम्मा हुने रकमबाट पनि सहयोग पुगेको अभियानकर्मी भगवान पुडासैनीले बताए । गोठाटारमा हाल करिब दुई सय गाईबाच्छा संरक्षण गरिँदै आएको छ । बेवारिसे गाईबाच्छा संरक्षण अभियानलाई कागेश्वरी मनोहरा नगरपालिकाले निःशुल्क पशु एम्बुलेन्स उपलब्ध गराएपछि सडकबाट बेबारिसे गाईबाच्छाको उद्धारमा पनि सहयोग पुगेको छ ।

बेवारिसे गाईबाछा संरक्षण अभियानले सडकमा अलपत्र छोडिएका गाईबाछाको उद्धारमात्र गरिरहेकोे छैन, माटो बचाउ अभियानलाई समेत योगदान पुर्‍याइरहेको छ । उच्चस्तरीय कम्पोष्ट मलको उत्पादन र बिक्री वितरण पनि गर्दै आइरहेको छ । यसका साथै गोेबरबाट गुइँठा उत्पादन गर्दै बिक्री वितरण गरिरहेको पनि उनले सुनाए । प्रतिगुइँठा १० को रु एक सय तथा मल प्रतिकेजी रु २५ मा बिक्री भइरहेको छ ।

यसबाट प्राप्त हुने रकमबाट गाईबाच्छाको संरक्षणमा थोरै भए पनि योगदान पुगेको स्थापनाकालदेखि गाई गोठको संयोजन गर्दै आएका अभियानकर्मी उत्तम पुडासैनीले बताए । अभियानले गुइँठा र कम्पोष्ट मलको आवश्यकता पर्नेलाई घरमै लगिदिने व्यवस्था गरिएको पनि उनले जानकारी गराए । गुइँठाको धुवाँले प्रकृति विनाश गर्दैन, डेङ्गीबाट बच्न र बचाउन घर परिसरमा गुइँठा बाल्नु उपयुक्त हुन्छ भने कौशीखेती वा करेसाबारीका लागि अग्र्यानिक मल प्रयोग गर्दा विषादीरहित अग्र्यानिक उत्पादन हुने गरेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर