रवि लामिछानेलाई आज पोखरा लगिँदै

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपन्देही पुर्‍याइएका रवि लामिछानेलाई आज पुनः पोखरा लगिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयमा हिजो (बिहीबार) साँझ बयान सकिएको थियो ।

बयान सकिए पनि त्यसलाई क्रमवद्ध रुपमा लेखेर शुद्धाशुद्धी हेरेर भाषा मिलाउन र प्रमाणीकरण गराउँदा राति अबेर भएको थियो । जिल्ला प्रहरी कार्यालयका एक अधिकृतका अनुसार उनलाई आज बिहान जहाजमार्फत पोखरा पठाइनेछ । लामिछानेसंग बुधबार र बिहीबारसमेत गरी ७० भन्दा बढी लिखित प्रश्न सोधेको र लामिछानेले इन्कारी बयान दिएका छन् ।

मंगलबार दिउँसो विमानमा पोखराबाट भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र बुधबारदेखि लिखित बयान लिएको थियो । बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता थियो । लिखित बयानका आधारमा पूरक प्रतिवेदन बनाउने तयारी छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका लामिछानेलाई प्रहरीको घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराउने र ल्याउने गरिएको थियो । बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सहकारी ठगीको आरोपमा लामिछानेलाई २ कात्तिकमा प्रहरीले उनकै पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति शुद्बीकरणको कसुरमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गितेन्द्रबाबु (जीबी) राई जोडिएको बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दा लामिछाने गृहमन्त्री रहेकै बेला ३ वैशाखमा अदालतमा दर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *