रवि लामिछानेसँग रुपन्देहीमा आज पनि बयान जारी

सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग भैरहवामा आज तेस्रो दिन पनि बयान जारी छ।

बिहान साढे १० बजेबाट सुरु भएको बयान आजै सकिने सम्भावना छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालका अनुसार दिउँसो ३ बजेसम्ममा बयान सकिने सम्भावना छ। आज दिउँसो बयान सकिए आजै साँझ पोखरा पठाउने सम्भावना रहेको उनले बताइन्।

लामिछानेसँग मंगलबार र बुधवार गरी साढे १२ घण्टासम्म बयान लिइएको थियो। पहिलो दिन मंगलवार ३ घण्टा ३५ मिनेट बयान लिइएकोमा बुधवार लगातार ९ घण्टा बयान लिइएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिबक्ता प्रेमराज पौडेलले बयान अन्तिम अवस्थामा पुगेको र नम्वरिङ गर्ने, रुजु गर्ने काम बाँकी रहेको बुधवार बताएका थिए। बिहिवार रुजु गर्ने कामपछि आवश्यकताअनुसार बयान हुने उनको भनाइ थियो।

रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्ने क्रममा लामिछानेले बयानमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको स्रोतले बताएको छ।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की लगिएको थियो । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बयानका लागि मंगलबार भैरहवा ल्याइएको हो।

सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका लामिछानेलाई आइतबार मात्रै कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो। सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले  रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही ल्याएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर