दीपक मनाङेलाई काठमाडौं अदालत लगियो

गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई प्रहरीले हत्कडी लगाएर अदालतमा उपस्थित गराएको छ।

काठमाडौंको सानो भर्याङस्थित द कम्फर्ट अपार्टमेन्टमा पुगेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरी कार्यालयमा ल्याई कागजी प्रक्रियासाथ अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

सीआईबीका अनुसार सर्वोच्च अदालतको फैसलाअनुसार कार्यान्वयन गरिएको हो।  अदालतबाट उनलाई कारागार चलान गरिनेछ। मनाङे ज्यान मार्ने उद्योग मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए।

२०६९ सालमा तत्कालीन पुनरावेदन अदालत, पाटनले उनलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा पाँच वर्षको कैद सजाय सुनाएको थियो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पुनरावेदन अदालतको उक्त फैसला सदर गरेपछि मनाङे पुनः दोषी ठहर भएसँगै भुक्तान हुन बाँकी सजाय काट्नु पर्ने भएको छ ।

यसअघि केही समय जेल बसेर छुटेका मनाङे २०७९ सालमा मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मनाङ ‘ख’बाट उनी निर्विरोध निर्वाचित भएका थिए।

अन्य भीआईपीलाई पक्राउ गर्दा प्रहरीले हत्कडी लगाएको थिएन। तर पटक–पटक मन्त्री भएका मनाङेलाईचाहिँ हत्कडी लगाउनुको कारण अदालतले दोषी ठहर गरिसकेको रहनु भएको सीआईबीका उच्च अधिकारी बताउँछन्। मनाङे दोषी ठहरसँगै उनको सांसद पद स्वतः निलम्बन भइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर