वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जना पक्राउ
वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिरुवा गाउँपालिका-१ स्याङ्जा घर भई काठमाडौँ महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका-९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका-१० झापा घर भई कामपा-२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका मध्ये केसीले क्रोएसिया पठाइदिन्छु भन्दै चार जनाबाट रु आठ लाख २५ हजार, बुढाले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट रु दुई लाख र खड्काले क्रोएसिया पठाइदिन्छु भन्दै एक जनाबाट रु. दुई लाख २५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
यसैबीच काठमाडौँ महानगरपालिका-४ चप्पल कारखानास्थित एक घरमा जुवातास खेलिरहेको अभियोगमा आठ जनालाई गए राती प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नगद रु. ७९ हजार चार सय ६५ रुपैयाँ र आठ बुक ताससमेत बरामद गरेको छ ।
प्रतिक्रिया