भारत हुँदै तेस्रो देश जान ‘एनओसी’ नचाहिने
श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अबदेखि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । सोमबार दिल्लीस्थित नेपाली दूतावासले सूचना जारी गर्दै श्रम स्वीकृति लिएका नेपालीलाई भारतीय विमानस्थल प्रयोग गरेर श्रम गन्तव्य जाँदा एनओसी नचाहिने व्यवस्था लागु गरेको जानकारी गराएको हो ।
दूतावासका अनुसार साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई) ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा दिल्लीस्थित नेपाली दूतावासबाट एनओसी लिनु पर्छ । वैदेशिक रोजगार विभाग र विभागमातहतका श्रम कार्यालयबाट श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई भने एनओसी आवश्यक नरहेको सूचनामार्फत स्पष्ट पारिएको छ ।
त्यसै गरी नेपाली कूटनीतिक, आधिकारिक, सेवा राहदानी धारक, संयुक्त राष्ट्र सङ्घ लायसेज–पासर (युएनएलपी) भएका नेपाली नागरिक र १६ वर्षमुनिका नेपाली नाबालिगलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासको सूचनामा उल्लेख गरिएको छ ।
दूतावासका अनुसार अमेरिका, बेलायत तथा सेन्जेन मुलुकको भिसा भएका नेपाली नागरिकलाई पनि अबदेखि एनओसी चाहिँदैन । रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेबाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने हुन्छ ।
भम्रणका लागि एनओसी आवश्यक पर्ने नेपाली नागरिकलाई इमेलमार्फत दूतावासको वेबसाइटमा उल्लेख गरिएका सबै आवश्यक कागजातसहित तोकिएको मितिभन्दा कम्तीमा सात दिनअगाडि सम्पर्क गर्न दूतावासले सूचनामार्फत आग्रह गरेको छ । यात्रा एनओसीका लागि सेवा शुल्क प्रतिव्यक्ति एक हजार भारतीय रुपियाँ तोकिएको छ ।
काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि एयरलाइन्स कम्पनीले हवाई भाडा दोब्बरले बढाएका छन् । त्यसैले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले भारतको बाटो हुँदै श्रम गन्तव्य मुलुक जाने व्यवस्था गर्न अनुरोध गरेपछि सरकारले यो व्यवस्था लागु गरेको हो ।
प्रतिक्रिया