गलत हर्कत गरे सत्तारुढ दलकै भएपनि सरकारले कसैलाई छोड्दैन : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको बताएका छन् ।

सोमवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको बताए ।

उनले समाज, राजनीतिलाई अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउले खालका क्रियाकलाप गर्ने छुट कसैलाई नरहेको पनि बताए ।

उनले गलत क्रियाकलाप गर्नेहरुलाई आफ्नै पार्टीका भएपनि सरकारले नछोड्ने बताए ।

उनले भने– ‘समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको छ । खास गरी राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने कुरा, राजनीतिमा अपराधीकरणको प्रक्रिया जुन भइरहेका छन्, सर्वत्र तिब्र आलोचना भइरहेको छ,यसलाई रोक्ने कुरामा वर्तमान सरकार दृढसंकल्पित छ । साथ, समर्थन र सुझाव भइरह्यो भने गलत कुराहरुको रोकथाम र नियन्त्रण गर्नेकुरामा लाग्नेछौँ । अहिलेका सबैकुरा एकै दिनमा हुँदैनन् । हाम्रो समाजलाई, हाम्रो राजनीतिलाई अझ अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, हाम्रो सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउले खालका क्रियाकलाप गर्ने कसैलाई पनि छुट छैन । कोशी प्रदेशको कानूनमन्त्रीको कुरा गर्नुभएको होला । त्यो एउटा संकेत हो । यस्तो हर्कत गरेको खण्डमा सरकारले सत्तारुढ दलको कुनै सांसद होस् की, कुनै मन्त्री, मुख्यमन्त्री होस्, त्यसले छुट पाउँदैन । गल्ती गर्नेले सजाय पाउनुपर्छ । चोरलाई चौतारो साधुलाई शुली हुँदैन, साधुलाई चौतारो, चोरलाई शुली नै हुन्छ । बिस्तारै यस्ता गलत प्रवृत्ति नियन्त्रण गर्नेकुरामा हामी लाग्छौँ ।’

सञ्चारमन्त्री गुरुङले गलत प्रवृत्ति नियन्त्रणमा सरकार गम्भीरताका साथ लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *