
बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण पठाउन निर्देशन


गत असोज दोस्रो साताको बाढीपहिरोले जनधनको क्षति पुर्याएकाबारे छिटो पूर्ण विवरण पठाउन स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले निर्देशन दिएको छ । धुलिखेलमा आइतबार बसेको समितिको बैठकले स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतलाई यस्तो निर्देशन दिएको हो ।
हालसम्म स्थानीय तहले क्षतिको पूर्ण विवरण उपलब्ध नगराउँदा राहत तथा पुनःनिर्माणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत आउने सरकारी राहत उपलब्ध गराउन समस्या भएको त्यस अवसरमा जानकारी दिइयो । प्राधिकरणको वेभसाईटमा क्षतिको पूर्ण विवरण ‘इन्ट्री’ गरी काभ्रेपलाञ्चोक प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिमा विवरण बुझाउन निर्देशन दिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षासँगैको बाढीपहिरोले यहाँका विभिन्न स्थानीय तहमा धेरै जनधनको क्षति भएको थियो । जिल्लामा ७९ को मृत्यु भएको थियो भने छ जना अझै वेपत्ता छन् ।
प्रतिक्रिया