घरघरमा धारा, हट्यो डोकोमा पानी बोक्नुपर्ने बाध्यता

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्यांकीबाट पानी बोक्नुपर्ने बाध्यता थियो ।

देवचुली नगरपालिकाको पहाडी क्षेत्र अन्तर्गत पर्ने मौला थुम्कीका भीमकुमारी लुंगेलीले अहिले घरमा धारामा पानी आएसँगै पहिले आफूहरूले गरेको दुःख बिर्सिएको बताइन् । खोलाबाट पानी बोक्दा दिन नै बित्ने गरेकामा अहिले घरमा धारा जोडिएपछि आफूहरूको दैनिकी नै फेरिएको उनले बताइन् । ‘घरमा एक जनाको काम नै पानी बोक्ने हुन्थ्यो, अब घरमै धारा आएपछि खेतीपाती र पशुपालनमा समय दिन सकिने भयो, उनले भनिन् बल्ल डोकोमा पानी बोक्ने दिन सकिए ।’

घरमै धारा अनि चौबीसै घण्टा पानी भएपछि दैनिक काम गर्न सहज भएको स्थानीय लालमाया बरालले बताइन् । पानीको सहजतासँगै घरको सरसफाइ, खेतीपाती र अन्य काममा समय दिन सहज भएको उनको भनाइ छ । पहिला खोलाको छेउमा तरकारी लगाउने गरेका मौलाथुम्कीवासीलाई अहिले घरघरमा तरकारीलगायत अन्य खेती गर्न  सहज भएको हुनुका साथै समयको समेत बचत भएको छ ।

देवचुली नगरपालिका र वास नमूना गाउँ परियोजनाको सहयोग तथा स्थानीयको श्रमदानमा रु. १५ लाख ३९ हजार लागतमा एक घर, एक धारा निर्माण गरिएको हो । स्थानीयलाई खानेपानीको समस्या भएपछि वास नमूना गाउँ परियोजनासँग सहकार्य गरी खानेपानीको विस्तार गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताए ।

पानीको सहजताले घरमा सबैको समय बचत भएको साथै कृषि तथा पशुपालन सहयोग पुगेको मौलाथुम्की खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष गिरिप्रसाद बरालले बताए । ‘पहिला नगरपालिकाले सानो खानेपानी ट्यांकी बनाएको थियो, गाउँका सबैले त्यहाँबाट डोकामा पानी बोक्नुपर्ने बाध्यता थियो’, उनले भने । अहिले सबैको घरमा तरकारी उत्पादन भएपछि तरकारी किनेर खानुपर्ने बाध्यता पनि हटेको छ ।

देवचुली नगरपालिका र वास नमूना गाउँ परियोजनाको साझेदारीमा मौलाथुम्कीमा खानेपानी तथा सरसफाइ अभियान सञ्चालन गरिएको परियोजनाका व्यवस्थापक प्रवीण घिमिरेले बताए । परियोजनाले देवचुली-५ र ६ मा ग्रामीण खानेपानी स्तरोन्नतिसँगै समुदायमा सरसफाइसम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *