मिथिलामा अक्षय नवमी पर्व मनाइँदै
मिथिलाञ्चलमा आज अक्षय नवमी पर्व मनाइँदै छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ ।
यस पर्वमा अमला (धातृ) रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । बगैँचा र वन क्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिन्छ । आफ्नै आँगन वा खेतबारी तथा बगैँचामा अमलाका रुख हुनेले यसै ठाउँमा र कतिपयले वन क्षेत्रका अमलाका रुखमुनि वनभोज गर्छन् ।
खासगरी किशोर र युवा वनभोजको रमाइलो लिन आज एकाबिहानै वन क्षेत्रका विभिन्न उद्यान र वनभोजस्थल पुग्ने गर्छन् । यो पर्वमा दिनभरि भगवान् विष्णुको आराधना गर्दै व्रत बसेर साँझ अमलाको रुखमुनि सहभोज गरिने परम्परा रहेको महन्त दास बताउँछन् ।
सहभोजको चलन साँझपख रहेको र परिवारका सम्पूर्ण सदस्य सहभागी हुने हुँदा यस भेगमा धेरैजसोले आफ्नै घर आँगन तथा नजिकको बगैँचामा भोजको आयोजन गर्ने गरेको स्थानीय पण्डित रामचन्द्र झा बताउँछन् । मिथिलामा यो पर्वलाई कुष्माण्डा नवमी पनि भन्ने गरिएको छ ।
कात्तिक शुक्ल नवमीकै दिन द्वापरयुगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंशबध गर्नु पूर्व मथुरा, वृन्दावन र गोवर्द्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वासमा कुष्माण्ड र पर्वमा अमलाको रुख तथा फलका परिकारको महत्त्व दर्साउन धातृनवमी भनिएको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता साहित्यकार एवं संस्कृतिविद् राजर्षिजनक विश्वविद्यालय जनकपुरधामका रजिष्ट्रार सत्यनारायण साहले बताए ।
प्रतिक्रिया