कीर्तिपुरको मेयरमा सरसफाइ अभियन्ता राजमानले स्वतन्त्र उम्मेदवारी दिने
आउँदो मंसिर १६ को उपनिर्वाचनमा सरसफाइ अभियन्ता राजमान महर्जन ‘मानव’ ले कीर्तिपुर नगरपालिकाको प्रमुखमा चुनाव लड्ने घोषणा गरेका छन् । २०६७ सालबाटै सरसफाइ अभियन्ताका रूपमा उदाएका उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले उम्मेदवारी घोषणा गरिसकेको बताउँदै मंसिर २ गते मनोनयन दर्ता गर्ने उनले जानकारी दिए । उपनिर्वाचन लड्नका लागि आफूले असोज ४ गतेबाटै नगरभित्र घरदैलो कार्यक्रमलाई अघि बढाएको उनले जानकारी दिए ।कीर्तिपुरकै लहना रेस्टुरेन्टको अध्यक्ष समेत रहेका उनले आफूलाई धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङबाट पनि सहयोग आश्वासन आएको बताए । यस्तै काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेनको सचिवालयबाट पनि सम्पर्क भएको दावी गरे ।
आफू नितान्त सामाजिक अभियन्ता भएको र राजनीतिक व्यक्ति नभएकाले पनि आफ्नो अभियान सफल बनाउन एक पटक पावरमा जान चाहेको उनले बताए । ‘मेरो सरसफाइसम्बन्धी जुन अभियान छ र मैले जसरी सोचेको छु त्यसलाई पुरा गर्न एक पटक पावरमा जान चाहेको हो‚’ उनले सुनाए, ‘अभियान आफूले भने अनुसार सधैँ ढाल्न सकिने रहेनछ । पावर र अभियानले निचोड निकाल्न सकिन्छ कि भन्ने दृष्टिकोणले गर्दा खेरी एक पटक मेयर बन्न चाहेको हो ।’ करिब १५ देखि कीर्तिपुर र विभिन्न ठाउँमा सफाइ गर्दै आएका उनलाई जिताउन भन्दै धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘कीर्तिपुर नगरपालिकाका चीर परिचित समाजसेवी विश्व सरसफाइ अभियन्ता तथा सांस्कृतिक सम्पदा संरक्षणमा लागि पर्ने राजमान ज्युलाई हाम्रो स्वतन्त्र समूहले मेयरको पदमा स्वतन्त्र उम्मेदवारको रूपमा अघि सारेका छौं ! सबैले सक्दो शेयर गरेर स्थानीयहरू माझ व्यापक प्रचार गरिदिनुहोला ! जय स्वतन्त्र !’ हर्क साम्पाङले लेखेका छन् ।
प्रतिक्रिया