अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जित नजिक, समर्थकलाई सम्बोधन गर्दै
अमेरिकाको ४७औँ राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् । निकै प्रतिस्पर्धात्मक मानिएको पेन्सिल्भानियामा जित हासिल गरेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ । सिएनएनकाअनुसार उनले हालसम्म २६६ इलेक्टोरल मत प्राप्त गरेका छन् । जीतका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।
फक्सन्युजले ट्रम्पको जित निश्चित भएको घोषणा गरिसकेको छ । उनले कम्तीमा २७७ इलेक्टोरल मत ल्याउने प्रक्षेपण गरेको छ । ट्रम्पले समर्थकहरूलाई सम्बोधन गरिरहेका छन् ।
त्यस्तै डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस १९४ इलेक्टोरल मतमा अगाडि छिन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ ।
जितका लागि निर्णायक मानिएका ७ स्विङ स्टेटमध्ये, पेनसिल्भानिया, नर्थ क्यारोलाइना र जर्जियामा ट्रम्पले जित हासिल गरेका छन् । यो जितले ट्रम्पलाई बहुमतका लागि सहज बनाएको हो ।
अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ ।
५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन् । त्यस्ता राज्यहरू ‘ब्लु’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन् । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ ।
यस पटक पनि पहिलेजस्तै निर्वाचन परिणाम नै निर्धारण गर्ने‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को मतले राष्ट्रपति चयनमा महत्त्वपूर्ण भूमिका खेलेको हो ।
प्रतिक्रिया