दशैं, तिहारको अवधिमा २९ लाखसहित ३९७ जना जुवाडे पक्राउ
सुदूरपश्चिम प्रदेशमा दसैँ र तिहारको अवधिमा जुवातास खेल्ने झण्डै ४०० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट समेत खटिएको टोलीले प्रदेशका ६ जिल्लाबाट ३९७ जना जुवाडेलाई २९ लाख रुपैयाँ भन्दा बढी रकमसहित पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्यांकअनुसार सबैभन्दा धेरै कैलालीमा १८४ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ११ लाख ९ हजार रुपैयाँ नगद बरामद गरिएको छ ।
यस्तै, कञ्चनपुरबाट ११ लाख ९० हजारसहित एक सय ५९ जना, चार लाख ४१ हजारसहित डडेल्धुराबाट २८ जना, अछामबाट ८६ हजारसहित ९ जना, बझाङबाट ६६ हजारसहित ५ जना र डोटीबाट १२ हजारसहित १२ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले चाडपर्व लक्षित गर्दै असोज १ गतेदेखि कात्तिक २० गतेसम्म २९ लाख सात हजार २५४ नगदसहित जुवातास खेल्ने ३९७ जनालाई पक्राउ गरी सम्बन्धित प्रहरी कार्यालयले कारबाही गरेको बताएका छन् ।
प्रतिक्रिया