वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने

जिल्ला प्रशासन कार्यालयले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठपर्वका लागि आवश्यक सुरक्षा रणनीतिसहित योजना बनाइने बताए।’छठपर्वमा विशेष सुरक्षा प्रबन्ध मिलाउनेछौँ,’ उनले भने, ‘विगतका छठपर्वका जोखिमका विषय के-के हुन्, ती विषयलाई सम्बोधन गर्ने गरी सुरक्षा योजना बनाएर अघि बढ्नेछौँ ।’ प्रजिअ अर्यालले जिल्लाका सुरक्षा निकायसँगै नगरप्रहरीसँग पनि समन्वय गरेर अघि बढ्ने बताए ।

वीरगञ्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवाको छठघाटमा विशेष सजावट र डेकोरेसन गरेर छठपर्व मनाइदैँछ । वीरगञ्जमा सबैभन्दा धेरै दर्शनार्थी तथा अवलोकनकर्ता घडीअर्वा पोखरीमा आउने गर्छन् । त्यसैले घडीअर्वा पोखरीको सुरक्षा चुनौती प्रमुख हुने गर्छ ।

घडीअर्वा पोखरी छठपूजा व्यवस्थापन समिति अन्तर्गतको सुरक्षा उपसमितिका संयोजक मनोहर गुप्ताले घडीअर्वा पोखरीमा करिब एक लाख ५० हजार भन्दा धेरै अवलोकनकर्ता आउने भएकाले सुरक्षा चुनौती मुख्य रहने बताए ।

छठपर्व कात्तिक शुक्ल चतुर्थी अर्थात आजदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । छठपूजा व्यवस्थापन समितिका सहसचिव प्रभाकर गुप्ताले घडीअर्वा पोखरीको शान्ति सुरक्षाको लागि २० थान सीसी क्यामेरा जडान गरिसकेको जानकारी दिए ।

‘‘यहाँ विशेष गरी कात्तिक २२ गते अस्ताउँदो सूर्यलाई अर्घ्य दिने बेला र २३ गते उदाउँदो सूर्यलाई अर्घ्य दिने बेला निकै सावधानी अपनाउन आवश्यक देखिन्छ,’’ उनले भने ।

छठघाट परिसरमा दमकल, एम्बुलेन्स, स्वास्थ्यकर्मी लगायतको टोली खटाइनेछ । प्रजिअ अर्यालले विगतका वर्षमा जस्तै यो वर्ष पनि पर्सा जिल्लामा छठपर्व शान्तिपूर्ण वातावरणमा मनाउने गरी आवश्यक तयारी भइरहेको बताए ।

सशस्त्र प्रहरी बल पर्साका प्रमुख राधेश्याम धिमालले घडीअर्वा पोखरीमा उद्धारसहितका टोली परिचालन गरिने बताए। जिल्ला प्रहरी प्रमुख कुमोध ढुङ्गेलले छठ पर्वका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाइने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *