छठका लागि महँगो मूल्यमा केरा किन्न बाध्य छन् उपभोक्ता

मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारीमा श्रद्धालुहरु लागेका छन् । व्रतालुहरु आज नहाए खाए विधिसँगै छठ व्रतको शुभारम्भ गरेका छन् भने श्रद्धालुहरु छठ पर्वमा प्रयोग हुने पूजाका सामग्री जुटाउने तयारीमा लागेका छन् । छठ पर्वमा अनिवार्य रुपमा प्रयोग हुने पूजा सामग्रीमा केरा तथा नरिवल लगायतका फल पर्छ ।

अहिले फलफूल मण्डीमा केरा किन्न आउनेहरुको भीड बढेको छ । छठ पर्वको प्रमुख प्रसादको रुपमा प्रयोग हुने केरा किन्नेहरुको जनकपुरधामका प्रमुख बजारहरुमा केही दिन यता भीड लागेको छ । प्रत्येक वर्ष जस्तै यसवर्ष पनि केराको विक्री छठ पर्वको पूर्वसन्ध्यामा व्यापक वृद्धि भएको छ ।

यद्यपि अन्य वर्षहरुभन्दा महँगो मूल्यमा श्रद्धालुहरु केरा किन्न बाध्य छन् । यस वर्ष पछिल्लो वर्षको तुलनामा दोब्बर मूल्य तिरेर केरा किन्न परिरहेको गुनासो उपभोक्ताहरुको छ ।

यस वर्ष भारतबाट खरिद गरेर नेपाल भित्र्याउन रोक लगाएकाले केराको अभाव भएको जनकपुरधामस्थित फलफूल व्यवसायी संघका महासचिव भूवनेश्वर पूर्वेले बताए । उनका अनुसार जनकपुरधाम बजारमा पछिल्लो वर्ष ८० ट्रक केराको आयात गरिएको थियो भने यो वर्ष भन्सारमा रोक लगाइएकाले ६० ट्रक केरा आयात गरिएको छ ।

जनकपुरधाम बजारमा भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढी लगायतका क्षेत्रबाट आयात गरिँदै आएको थियो । जबकि यस वर्ष नवलपरासीको त्रिवेणीबाट मात्रै केरा बढी मात्रामा आयात गरिएको छ । भारतको केरा सस्तो भएपनि नेपाल भित्र्याउन समस्या भएपछि त्यसको मार उपभोक्तामा पर्ने निश्चित रहेको फलफूल व्यवसायी दीलिप साले बताए ।

छठका लागि केरा किन्न पुगेका उपभोक्ता पहिलेको तुलनामा छठ पर्व धेरै महँगिएको बताउँछन् । पहिला पहिला ३ सयदेखि ५ सय रुपैयाँमा केरा किन्न पुग्थ्यो । तर यस वर्ष कम्तीमा ८ सयदेखि १ हजार रुपैयाँसम्म मात्रै केरा खरिद गर्नुमा खर्चिनु परिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर